विराटनगर । सीमा नाका सिल भएको अवस्थामा पनि तस्कर समूहले रूट परिवर्तन गरेर मोरङको पूर्वदक्षिणी क्षेत्रको नेपाल–भारतको सीमा नाकाहरूबाट हरियो मटर तस्करी गरिरहेको छ ।
प्रहरीको संरक्षणमा तस्करसँग मिलेमतो गरि मोरङको नोचा नाकाबाट तस्करीजन्य गतिबिधी सञ्चालन भएको हाम्रोमतले सार्वजनिक गरेपछि प्रहरीले सो नाका कडाइ गरेको थियो । तर, अहिले अर्को नाकाबाट तस्करी भइहरको पाइएको छ ।
तस्करीमा लागेको गिरोहले अहिले रंगेली नगरपालिका ६ चोपरा नाका प्रयोग गरेर हरियो मटर तस्करी गरि भारततर्फ लैजाने गरेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले आइतबार राती रंगेली ६ चोपरा नजिकबाट ठूलो परिमाणको तस्करी गरेर भारत लैजान लागेको मटर बरामद गरेको छ ।
अबैध रुपमा भारततर्फ लैजाँदै गरेको मे १ त २५५ नम्बरको ट्याक्टरमा लोड गरिएको १५३ बोरा मटर सशस्त्रले बरामद गरेको हो । प्रतिबोरा २५ केजी तौल भएको १५३ बोरा मटर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङका प्रमुख एसपी तिर्थ पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले बरामद गरेको मटरको मूल्य ३ लाख ६ हजार बराबरको छ । बरामद भएको मटर र ट्याक्टरलाई प्रहरीले आवश्यक कारवाहीको लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी टोलीलाई देखेपछि ट्याक्टर चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
तस्करी रोक्न सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिएको एसपी पौडेलले बताउनुभएको छ । सशस्त्र प्रहरीले बरामद गरेको मटर राजेश साहको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
साहको सीमा नाका नजिक धानको काटा पनि रहेको छ । धानको काटा राखेर मटरको तस्करी गर्ने गरेको बुझिएको छ । यसअघि सुमन साहले नोचा नाकाबाट हरियो मटर तस्करी गरि लैजाने गरेका थिए । प्रहरीले सो नाकामा कडा सुरक्षा कडा बनाएपछि अर्को नाकाबाट तस्करी सुरु भएको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।