विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनुभएको छ । पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराउनुभयो । उहाँले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भईसकेको बताउनुभयो । रंगेली र विराटनगरमा सडकमा केही समस्या रहेको बताउँदै उहाँले रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको जानकारी दिनुभयो ।
विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले जानकारी दिनुभएको छ । सामाजिक विकासमन्त्री घिमिरेले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो ।
मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो ।
पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराउनु भएको थियो ।

