कोशी अस्पतालको भवन निर्माणमा अबरोध

विराटनगर । क्षयरोग निवारण संस्था विराटनगरको कारण कोशी अस्पतालको विस्तारमा अवरोध भएको छ । कोशी अस्पतालको ६ कट्ठा २ धुर जग्गामा रहेको संस्थाले जमिन नछाडेपछि अस्पताल विस्तारमा अवारोध भएको हो ।

कोशी अस्पतालमा अण्डरग्राण्डसहितको ५ तले नयाँ भवन निर्माणका लागि संघीय सरकारले ४४ करोड रुपैयाँ लागत स्टिमेट तयार गरेको छ । नयाँ भवन निर्माणका लागि इमरजेन्सी अगाडि रहेको पुरानो भवन भत्काइसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढाउन क्षयरोग निवारण संस्थाको कारण अबरोध भएको छ ।

क्षयरोग निवारण संस्थाले ओगटेको जमिन भने नछाडेका कारण संरचना निर्माणको काम अघि बढ्न नसकेको कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार अस्पतालको जग्गामा बसेको संस्थाले जमिन नछाड्दा काम अघि बढेको छैन ।

नयाँ आधुनिक भवन ३ हजार वर्गमिटरमा बन्नेछ । जसका लागि संस्थाले भोगचलन गर्दै आएको करिब डेढ कट्ठा जग्गा आवश्यक पर्छ । तर, पटक–पटक आग्रह गर्दा पनि संस्थाले अटेर गरेको भट्टराईले बताउनुभयो । संस्थाले अस्पतालको जग्गामा बनेको भवनलाई भाडामा लगाएर आम्दानी गरिरहेको छ ।

‘क्षयरोग निवारण संस्था चाहिन्छ । तर, अहिले संस्थाभन्दा बढी आवश्यक अस्प्ताल छ’ भट्टराईले भन्नुभयो, ‘पुरानो बिल्डिङ भत्काएर नयाँ संरचना बनाउन अवरोध गर्न मिल्दैन ।’

कोशी अस्पतालले भवन भत्काउन अनुरोध गरेपनि अटेर गर्दै आएको क्षयरोग निवारण संस्था रिट बोकेर उच्च अदालत विराटनगर पुगेको छ । अदालतलले तत्काल अस्पतालको भवन निर्माणको काम अघि नबढाउन कोशी अस्पतालका नाममा आदेश जारी गरेपछि काम नै प्रभावित भएको छ ।

क्षयरोग निवारण संस्थाले दशैको विदामा कोशी अस्पतालतर्फको जग्गामा पर्खालसमेत लगाएर ओगटेको छ । अब अदालतीय प्रक्रिया पुरा भएपछि कोशी अस्पतालले संरचना भत्काएर नयाँ भवन बनाउने जनाएको छ ।

क्षयरोग निवारण संस्थाका अध्यक्ष राजन श्रेष्ठले अस्पतालकै काम गरिरहेको क्षयरोग निवारण संस्थाको भवन भत्काउन नहुने बताउनुभयो । संरचना बनाउन अस्पतालसँग अन्य जमिन पनि रहेकाले संस्थाकै जग्गा प्रयोग गर्न जरुरी नरहेको उहाँको जिकिर छ ।

शुक्रबार, १९ मंसिर, २०७७, बिहानको ११:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर