विराटनगर । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न बढाउने भन्नेमै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच विवाद भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राखेको प्रस्ताव फिर्ता लिएर माफी नमागेसम्म बैठक अगाडि नबढ्ने धारणा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले राखेपछि प्रचण्डसहितको नेताहरुले प्रतिवाद गरेका थिए ।
बैठकमा दुई अध्यक्षबीच भनाभन नै भएको स्रोतले जनाएको छ । ओलीले प्रचण्डको प्रस्ताव फिर्ता गरेर माफी नमागेसम्म बैठक नबस्ने र बैठकको औचित्य नभएको धारणा राख्नुभएको थियो । उहाँको धारणलाई महासचिव विष्णु पौडेलले समर्थन गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भने बैठक जारी रहेकोले प्रस्ताव के गर्ने भन्नेबारे निर्णय पनि बैठकले नै गर्ने बताउनुभयो । उहाँले बैटक नरोकिने स्पष्ट पारेपछि त्यसमा अन्य सचिबालयका सबै सदस्यहरुको समर्थन रहेको थियो । प्रधानमन्त्री निकट रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि बैठक रोक्ने ओलीको प्रस्तावमा समर्थन नगरेपछि प्रचण्डको प्रस्तावमा ९ सदस्य सचिबालयका ७ जना उभिएका थिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको औचित्यै नभएको भनेपछि त्यस विषयमा अर्का अध्यक्ष प्रचण्डले प्रतिवाद गर्दै सबै विषयको हल बैठकमा खोज्नुपर्ने बताउनुभयो । उहाँलाई बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, सचिबालय सदस्यहरु बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।
प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन पेश गरेपछि प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान राख्नुभएको थियो ।
प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै ओलीले बैठक बाहिरबाटै सहमति खोजिनुपर्नेमा जोड दिनुभएको थियो । जवाफमा प्रचण्डले प्रतिवाद गर्दै बैठक छल्ने कुरा गर्न नहुने र सबै समस्याको समाधान बैठकबाटै निस्किने बताउनु भएको थियो ।
बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । आजको बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।
सचिबालयको अर्को बैठक बुधबार १ बजे बस्नेछ । यस्तै बिहीबारको लागि तय भएको स्थायी समिति बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
निभ्न लागेको दियो प्रकाश बढी दिने गर्छ।