‘अकिञ्चन’द्वारा रचित ‘जूनको आँगनमा’ मुक्तक संग्रह लोकार्पण

विराटनगर । कवि तथा मुक्तककार चुडामणि नेपाल ‘अकिञ्चन’द्वारा रचित मुक्तक संग्रह लोकार्पण गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा भाषा, साहित्य र सामाजिक क्षेत्रका अगुवाहरुले सामुहिकरुपमा मुक्तक संग्रहको लोकार्पण गर्नुभयो ।

नेपाली ब्याकरणमा विशेष दख्खल राख्नुहुने अकिञ्चनले रचना गर्नुभएका २७० मुक्तकहरुको संग्रह ‘जूनको आँगनमा’ले राष्ट्रप्रेम, प्रकृति प्रेमलाई राम्रोसँग उजागर गरेको र सामाजिक विकृति विरुद्ध प्रहार गरेको प्राज्ञ विवश पोखरेलले बताउनुभयो । राजनीतिक सचेतनादेखि लोकतन्त्रको रक्षा र सीमा अतिक्रमण गरी राष्ट्रका विरुद्ध भएका क्रियाकलापको विरोधमा लेखिएका मुक्तकहरु पनि संग्रहमा समावेश छन् ।

मुक्तककार अकिञ्चनद्वारा प्रकाशित संग्रह मुक्तक विधामा अध्ययनरत वा कलम चलाइरहेका पछिल्ला पुस्ताका लागि अत्यन्त प्रेरणादायी रहेको भरत गुरागाई बर्बरिकले बताउनुभयो । प्रकाशित संग्रहमाथि संक्षिप्त टिप्पणी गर्नुहुँदै उहाँले मुक्तक संग्रह सशक्त र अत्यन्तै थोरै कमजोरीयुक्त रहेको बताउनुभयो । मुक्तक संग्रह देशभक्तिपूर्ण रहेको पनि उहाँले बताउनुभयो । ‘जुनको आँगनमा देशभक्तिभाव प्रकट हुने प्रयाप्त मुक्तकहरु छन् र यी मुक्तक विधालाई पच्छ्याउनेहरुका लागि प्रेरणादायी पनि छन्,’ गुरागाईले भन्नुभयो ‘मुक्तकमा विषयवस्तुको प्रधानता र अनुभूतिहरुको तरलता हुनुपर्छ जसलाई संग्रहमा संग्रहित मुक्तकहरुले न्याय गरेका छन् ।’ मुक्तकमा लय र अनुप्रासहरुको प्रयोगमा पनि उचित ध्यान दिइएको छ ।

मुक्तक संग्रहमा संग्रहित मुक्तकहरु सशक्त रहेको र विषय उठान, गतिशिलता, उत्कर्ष र प्रहार जस्ता तत्वहरुको राम्रो संयोजन छ ।

नेपाली भाषामा राम्रो दख्खल राख्नुहुने प्राध्यापक भुषण ढुंगेलले मुक्तककार अकिञ्चनको पहिलो मुक्तक संग्रह भएकोले त्यसमा रहेका कमिकमजोरी देखाएर दोष दिने पक्षमा आफु नरहेको बताउनुभयो । उहाँले कुनैपनि रचनाहरु कमजोरीमुक्त नहुने भन्दै मुक्तकका सवल पक्षहरुको बारेमा बताउनुभयो । उहाँले मुक्तक बाचनसमेत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भाषा साहित्यको विकासमा कवि तथा मुक्तककार चुडामणि नेपालले महत्वपूर्ण योगदान गर्नुभएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले भाषा साहित्य क्षेत्रको विकासका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको पनि बताउनुभयो ।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष अग्रज साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी लगायतको समेत उपस्थिति रहेको थियो ।

कवि तथा मुक्तककार अकिञ्चनले २०७२ सालमा रचना गर्नुभएका अमूर्त सपना नामक कविता संग्रह प्रकाशित भएको छ भने पाठ्य सामग्रीको रुपमा सहयोगी नेपाली ब्याकरण २०७३ र २०७४ सजिलो नेपाली ब्याकरण समेत प्रकाशित छन् ।

शुक्रबार, १२ मंसिर, २०७७, दिउँसोको ०४:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर