प्रदेशसभाको नयाँ सभाहल धमाधम बन्दै

विराटनगर । आगामी हिउँदे अधिवेशन नयाँ र आधुनिक सभाहलमा सञ्चालन गर्नेगरि प्रदेश १ को प्रदेशसभा भवन द्रुत गतिका साथ निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको स्वामी नारायण निर्माण सेवाले छोटो समयमै फाउण्डेसनको काम सम्पन्न गरेको छ ।

सभाहल निर्माणको काम गतिका साथ अघि बढिरहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । अबको १० दिनभित्र सभाहलको छानो लगाउने जानकारी ठेकेदार कम्पनीबाट पाएको सचिव पराजुलीले बताउनुभयो । ‘प्रदेशसभाको हिउँदे अधिवेशन नयाँ सभाहलमै गर्ने उद्देश्य भेट्टाउने गरी काम भइरहेको छ,’ सचिव पराजुलीले भन्नुभयो ‘सकेसम्म आउँदो संसदको अधिवेशन यसै सभाहलमा सञ्चालन गर्नुपर्छ भनेर हामी सबै क्रियाशिल छौं ।’

प्रदेशसभाको सभाहल साँघुरो हुँदा सभा सञ्चालनमा कठिनाई भएको र हरेक वषात्मा हलभित्र पानी पस्दा सभा सञ्चालन गर्न समस्या हुने गरेको थियो । पानीले फर्निचर, कार्पेटलगायतका सामान हरेक वर्ष नष्ट हुने समस्या समाधान गर्न प्रदेशसभाको सभाहल बनाउँनुपर्ने दवाव परेको थियो ।

प्रदेशसभाको निर्माणाधीन नयाँ सभाहल करिव १५० जना अट्ने क्षमताको रहेको छ । मंसिर १० गतेसम्म सभाहलको फाउण्डेसनको काम पूर्णरुपमा सम्पन्न भइसकेको छ भने वरिपरिको पर्खाल लगाउने काम भइरहेको छ । सभाहलसँगैका लबिहरुको निर्माण पनि अघि बढेको छ । सञ्चारकर्मी र आगन्तुकहरुको बस्ने बालकोनी निर्माणको चरणमा छ ।

मंसिर मसान्तसम्म सभाहलको कन्स्ट्रक्सनतर्फको काम करिब सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले कामको गति बढाएको जनाएको छ । ट्रष्टको काम पनि धमाधम अघि बढिरहेकोले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरु आशावादी रहेको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले बताउनुभयो ।

सरकारी भवनहरु समयमै सम्पन्न नहुने समस्या भएपनि प्रदेशसभा हल निर्माणमा भने निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम गरेको देखिएको छ । भवन निर्माणले गति लिएसँगै निर्माणाधीन प्रदेशसभा हलका लागि आवश्यक पर्ने फर्निचर निर्माणको प्रक्रिया पनि आरम्भ भएको छ । रोष्ट्रमतर्फको फर्निचर र प्रदेशसभा सदस्यहरु बस्ने कुर्सी टेबलहरुको डिजाइन तयार भइसकेको छ । डिजाइन अनुसार फर्निचर बनाउने प्रक्रिया एक साताभित्रमा अघि बढाउने प्रदेशसभा सचिवालयको तयारी छ ।

सभाहलको कन्स्ट्रक्सन निर्माणको काम सम्पन्न हुनसाथ इन्टेरियरतर्फको काम पनि अघि बढ्ने र त्यसका लागि धेरै समय नलाग्ने बताइएको छ । सबैकाम एकसाथ समन्वयात्मक ढंगबाट अघि बढेका कारण अबको दुई महिनाभित्र प्रदेशको आफ्नै नयाँ सभाहल निर्माण भइसक्नेछ । प्रदेश सरकार स्थापना भएपछि प्रदेशकै बजेटबाट निर्माण भएको प्रदेश सरकारको यो पहिलो संरचना पनि हो ।

प्रदेश सरकारले विनियोजन गरेको २ करोड ५१ लाख ८१ हजार रुपैयाँको लागतमा सभाहल निर्माणको ठेक्का लागेको हो । असोज १ मा शिलान्यास भएको सभाहल ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । ठेकेदार कम्पनीले ४ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यको गति बढाएको छ ।

शुक्रबार, १२ मंसिर, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर