पथरी । मोरङको पथरी शनिश्चरे ५ हसन्दहमा बिहीबारबाट अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन गर्नुभएको छ ।
नगरको दक्षिणी भूभागका रुपमा रहेको ५ र ६ नम्वर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि पोष्टले सहजता प्रदान गर्नेछ । स्थानीय समाजसेवी बलबहादुर निरौलाले प्रहरी पोष्टका लागि तात्कालिन अवस्थामा ५ कठ्ठा २ धुर जग्गा दान गर्नुभएपछि १० वर्ष अघि हसन्दह गाविसले भवन निर्माण गरेको थियो ।
आवश्यक प्रहरी दरवन्दी व्यवस्थापन नहुँदा भवन अलपत्र रहेकोमा नगरपालिकाको लगातारको पहलपछि २०७७ मंसिर ४ गते अस्थाई प्रहरी पोष्ट स्वीकृत भएको थियो । जुनियर प्रहरी अधिकृत असाईको कमाण्डमा पोष्टमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको छ ।
नगर क्षेत्रमा डीएसपीको कमाण्डको इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, २ वटा सशस्त्र बेस क्याम्प, एउटा नेपाल प्रहरीको बेस क्याम्प रहेको छ । हसन्दहमा पनि प्रहरी पोष्ट खडा भएपछि सुरक्षा व्यवस्थापनका हिसावले नगर क्षेत्रमा सहजता हुने नगरप्रमुख राईले बताउनुभयो ।