अर्कैसँग लागेर विदेशमा कमाएको सम्पत्ती सकेको भन्दै श्रीमतीको हत्या

दमक । झापाको दमक नगरपालिका–१ मामाचोक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

भण्डारीले आफ्नै ३७ वर्षीया श्रीमती टीकामायालाई आइतबार दिउँसो सामान्य विवादमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीबाट हालै फर्किएका भण्डारी र श्रीमतीबीच कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको निजी जमिनका विषयमा विवाद भएको थियो । सोही क्रममा उनमाथि खुकुरी प्रहार गरिएको हो ।

खुकुरी प्रहारबाट स्थानीय प्रकाशचन्द्र दाहालसमेत घाइते भएका छन् । उनी टीकामायासँगै गएका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय दमकको टोलीले चुडामणिलाई पक्राउ गरेको छ । विदेशमा रहेको बेला आफूले कमाएको ठूलो रकम श्रीमतीले हिनामिना गरेको आरोप चुडामणिले लगाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दाहालले पनि भागेर मात्र ज्यान जोगाउन सफल भएका थिए ।

प्रहरीका अनुसार भण्डारीले २२ वर्ष वैदेशिक रोजगारीमा बिताएका थिए । उनी गत भदौमा स्वदेश फर्किएका थिए । त्यसयता विवादको कारण उनीहरु एकसाथ बसेका थिएनन् ।

आइतबार चूडामणि आफ्ना अरू २ जना नातेदार सहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए भने आफूलाई पनि धान चाहिने भन्दै विवाद गर्दै आएकी टिकामायाँ पनि दाहालको मोटरसाइकलमा पुगेकी थिइन् ।

त्यस क्रममा उनीहरुबीच विवाद भएको र चुडामणिले आफूले झोलामा बोकेर लुकाइछिपाई लगेको खुकुरी पहिले प्रकाशमाथि प्रहार गरेका थिए । प्रकाशलाई खुकुरी हानेका चुडामणिले थप आक्रोशमा आएर श्रीमतीमाथि पनि अन्दाधुन्द खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै ज्यान गएको थियो ।

श्रीमतीको हत्या गरेपछि चुडामणि आफैंले प्रहरीलाई खबर गरिदिन स्थानीयलाई भनेका थिए । घटनास्थलमै उनले आफ्नो अपराध स्वीकार गरेको दमक प्रहरीले जनाएको छ ।

आफूले २२ वर्ष विदेशमा बस्दा कमाएको पैसा हिनामिना गरेको र परपुरुषसँग बढी हिमचिम बढाएको देखेपछि आवेगमा आएर श्रीमतीको हत्या गरेको चुडामणिले प्रहरीसामु स्वीकार गरेका छन् ।

मंसिर ८, २०७७, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर