विराटनगर । मोरङमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना, विराट मेडिकल कलेजमा एक जना र म्याक्स अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेलगायतका समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएकी वृद्धाको बिहान ८ः३० बजेतिर मृत्यु भएको हो ।
त्यस्तै इलामको सूर्याेदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको छ । अस्पतालको आइसोलेशन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आइतबार राति १०ः३० बजेतिर मृत्यु भएको हो ।
विराटनगरकै म्याक्स अस्पतालमा उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजेतिर मृत्यु भएको छ । मुटुमा पुरानै समस्या भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको थियो ।