लोड हुँदैछ...

मेनु

सरकारको लोकप्रियता देखेर आत्तिएः प्रधानमन्त्री

सरकारको लोकप्रियता देखेर आत्तिएः प्रधानमन्त्री

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले सरकार विरुद्ध नकारात्मक सन्देश फैलाएको दावी गर्नुभएको छ ।

उत्तरी छिमेकी मुलुक चिनसँग जोडिएको ताप्लेजुङको हिमाली गाउँ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओली समृद्धिको बाटोमा लागेको सरकार विरुद्ध षड्यन्त्र भइहरेको दावी गर्नुभयो ।

सरकारले गरेको विकास र प्रगति हेरेर तर्सिएका केही मान्छे मुलुकमा अस्थिरता सिर्जना गर्न लागिपरेको प्रधानमन्त्री ओलीको भनाइ छ । कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको भन्दै उहाँले देशमा स्थिरता आउला भनेर उनीहरु आत्तिएको जिकिर गर्नुभयो ।

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीविरुद्ध र सरकार विरुद्ध भ्रम फैलाउनेहरुलाई सबैले चिन्नुपर्ने बतायउनुभयो । भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल रहेको उहाँको भनाइ थियो ।

घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा सुगममा परिणत हुने दावी गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकार लाग्ने बताउनुभयो । उहाँले कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उहाँले बताउनुभयो ।

घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत प्रधानमन्त्रीको भनाइ थियो । घुन्साबासीले प्रधानमन्त्री ओलीसमक्ष आफ्ना समस्या समेटिएको मागपत्र नै बुझाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई ५ लाख रुपैयाँको छात्रवृत्ति र जेष्ठ नागरिकलाई कपडा वितरण गर्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

घुन्सामा जिल्ला सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्ता लगायतको टोली पुगेको थियो । प्रधानमन्त्रीको टोलीले चीनसँगको सीमा क्षेत्र ओलाङ्चुङ्गोला क्षेत्रको हवाइ निरीक्षण पनि गरेको थियो ।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा स्वास्थ्यकर्मी नहुँदा स्थानीय र पर्यटक पनि समस्यामा पर्ने गरेका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

N B Giri
November 24, 2020 8:37 AM

When a person’s ability to do given responsibilities is questioned he uses fairy tales and jokes to shield peoples needs. This PM is neither serious nor worried about future of Nepal.

प्रतिक्रियाहरू बन्द छन्।