गुणस्तरहिन उत्पादन गर्ने ११ उद्योगलाई मुद्दा

विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रथम समीक्षा सार्वजनिक गरेको छ । कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि प्रथम चौमासिक समीक्षा सार्वजनिक गरेको हो ।

कोरोना महामारीबीच पनि कार्यालयबाट प्रभावकारी रुपमा बजार अनुगमनलाई तिव्रता प्रदान गरिएको जनाएको छ । प्रदेश नं. १ का ४ वटा डिभिजन कार्यालयहरु र विराटनगर प्रयोगशालाले गरेको बजार अनुगमन र नमुना परिक्षणका क्रममा १ सय २१ वटा वस्तुहरुकोे प्रयोगशाला परिक्षण गर्दा ११ वटा वस्तुमा न्यून गुणस्तर पाईएको कार्यालयले जानकारी दिएको छ ।

कोरोना महामारीका बिचमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आर्थिक वर्ष ०७७÷७८ को प्रथम चौमासिकमा ११ वटा न्यून गुणस्तरका वस्तु उत्पादन गर्ने उद्योगहरुलाई मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । पिउने पानी, घिउ र कुखुराको दानाहरु कमसल भेटिएकाले मुद्दा प्रक्रिया अघि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले बताउनुभयो ।

प्रदेश नं. १ अन्तर्गत धनकुटा, उदयपुर, झापा र सुनसरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रणको डिभिजन कार्यालय रहेको छ । अनुगमनका क्रममा डिभिजन कार्यालयहरुले संकलन गरेका सबै नमुनाहरु परिक्षणका लागि विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रदेशस्तरीय प्रयोगशालामा आउने गरेका छन् ।

समीक्षा कार्यक्रममा भने जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, नापतौल कार्यालय, घरेलु कार्यालय, उपभोक्ता संघ संगठनका प्रतिनिधि र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

मंसिर ८, २०७७, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर