विराटनगर विमानस्थल विस्तारको लागि १२६ बिघा जग्गा अधिग्रहण गर्न सरकारको स्वीकृति

विराटनगर । विराटनगर विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएको छ ।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद्ले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभएको हो ।

विराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावन मार्ग बनाउने योजना छ । उक्त परियोजना नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले लागत साझेदारीमा अगाडि बढाउने सम्झौता दुई महिना अघि भइसकेको छ ।

जग्गा अधिग्रहणका लागि आवश्यक खर्च मध्ये प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशतले व्यहोर्ने समझदारी छ ।

मन्त्रिपरिषद्को सोही बैठकले सुर्खेत विमानस्थलका लागि ३० बिघा जमिन अधिग्रहण गर्ने स्वीकृति पनि दिएको छ ।

शुक्रबार, ०५ मंसिर, २०७७, साँझको ०६:०३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर