विराटनगर । प्रदेश १ सरकारले देशमै पहिलो पटक स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि पानी जहाज र रेल्वे इन्जिनियरिङ स्नातक तहको पढाई सुरु गर्ने तयारी थालेको छ ।
मोरङ बुढीगंगा गाउँपालिका ४ मा रहेको विश्वविद्यालयले आगामी शैक्षिक सत्र २०७८/०७९ देखि स्नातक तहमा चार वर्षे पानी जहाज र रेल्वे इन्जिनिरिङको पढाई सुरु गर्ने तयारी थालेको हो । पहिलो चरणमा डिग्री तहमा १२ जना र स्नातकमा एक सय जना विद्यार्थी भर्ना गर्ने योजना रहेको छ ।
गत वर्ष प्रदेशसभाबाट बहुमतले कानुन पारित भएपछि प्रदेश १ सरकारले स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारी स्मृति प्रतिष्ठान मार्फत् सञ्चालन हुँदै आएको मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको थियो ।
विश्वविद्यालयले मनमोहन अनुसन्धान केन्द्र स्थापना गरेर कृषी, पर्यटन, इन्जिनिरिङ र जलस्रोतलाई मिलाएर आर्थिक सम्वृद्धिका लागि दक्ष जनशक्त्ति उत्पादन गर्नेगरी पाठ्यक्रम निर्माण गर्न लागेको सहकुलपति तथा समाजिक विकास मन्त्री जीवन घिमिरले बताउनु भयो । मनमोहन विश्वविद्यालयको सभाको उपकुलपतिसहितको सबै पदाधिकारीहरू चालु वर्ष भित्रै नियुक्त्त गरेर २०७८ वैशाखभित्र पहिलो सभा सम्पन्न गर्ने योजना सरकारको रहेको घिमिरले बताउनु भयो ।
उहाँका अनुसार सभा सम्पन्न भएपछि क्रमशः अन्य पदाधिकारी, रजिष्टार, डिन र प्राध्यापक र प्रशासनिक कर्मचारी पनि चालु आर्थिक वर्ष भित्रै नियुक्त भइसक्नेछन् । ‘हामीले मनमोहन विश्वविद्यालयलाई आगामी १० वर्षभित्र दक्षिण एसियामै चिनिएको प्राविधिक विश्वविद्यालय बनाउन एग्रेसिभ ढङ्गले काम गरिरहेका छौ,’ घिमिरेले भन्नुभयो ।
आगामी शैक्षिक सत्रको भदौ र असोजदेखि स्नातक र स्नातोकोत्तर तहको पठनपाठन सुरु हुने र त्यसका लागि पाठयक्रम धमाधम निर्माण भइरहेको विश्वविद्यालयका कार्यकारी प्रमुख डा.सुभाषश्री पोखरेलले बताउनु भयो । प्रमुख पोखरेलका अनुसार देशमा पूर्व–पश्चिम रेलसेवा सञ्चालन हुने निश्चित भइसकेको र त्यसका लागि आवश्यक जनशक्ति नभएकोले पहिलो प्राथमिकतामा राखिएको हो । यसैगरी देशका ठूला नदीहरुमा साना पानी जहाजहरू सञ्चालन हुन थालेको र त्यसको चालक र प्राविधिकहरूको अभाव रहेको छ ।
साथै जहाज र बोटहरू पनि देशमा निर्माण हुन नसक्दा महँगोमा विदेशबाट खरिद गरेर ल्याउनु परिररेहेको छ । ‘हामीले आगामी वर्ष २०७८÷०७९ देखि सिभिल इलेक्ट्रिोनिक्स विषयको स्नातक तहको पानी जहाज र रेल्वेको पढाईलाई उच्च प्राथमिकता दिएर चार वर्षे कोर्ष निर्माण गर्न थालेका हांै,’ प्रमुख डा. पोखरेलले भन्नुभयो ।
प्रमुख पोखरेलका अनुसार आगामी वर्षैदेखि नै हिमाल, पहाड र तराईमा घर, बाटो, पुल, बनाउने जनशक्तिका लागि सिभिल इन्जिनिरिङको पढाई पनि हुँदैछ । त्यसपछि क्रमशः मनमोहनले १० वर्ष भित्रमा व्याचलर अफ मेडिकल ल्याब टेक्निोलोजी (विएमएलटी), आँखा उपचारका स्वास्थ्यकर्मीहरुका लागि ‘अप्टिमेट्री’, अनि मास्टर्स अफ पब्लिक हेल्थ (एमपिएच) र बायोमेडिकल इन्जिनियरिङ विषयमा पनि पढाई सुरु गर्नेछ । दश वर्ष भित्रमा पर्यटन, एग्रिकल्चर, भेटनरी, पब्लिकहेल्थ, रेडियोग्राफी, फार्मेसी, आयुर्वेद, आँखा, डेन्टल, सर्जन, आर्केटिक, जियोमेटिक (नापी) हाइबे सर्वेलगायतका विभिन्न थप १३ वटा प्राविधिक विषयमा पठनपाठन गराउने योजना मनमोहनले बनाएको पोखरेलले बताउनु भयो ।
उहाँका अनुसार आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुचारु गराउनका लागि बुढीगंगा–४ हात्तीमुढामा केन्द्रिय कार्यालय स्थापना भइसकेको छ । सोही स्थानमा एक हप्ता भित्रै नयाँ परामेडिकल भवनको शिलान्यास हुँदैछ । अटोमोवाइल्स इन्जिनियरिङ ल्याव धमाधम निर्माण भइरहेको छ ।
आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्नकालागि मनमोहन प्राविधिक विश्वविद्यालयका आन्तरिक नियमावली र निर्देशिकाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसेकेको कानुनी सल्लाहकार कोषराज न्यौपानेले बताउनु भयो ।
मनमोहनले पहिलो चरणमा केन्द्रिय कार्यालय रहेका आफ्ना आंगिक क्याम्पसहरू मार्फत् स्नातक र स्नातकोत्तरको पढाई सञ्चालन गर्नेछ । त्यसमा सफलता हासिल गरेपछि क्रमशः सार्वजनिक निजी साझेदारीमा प्रदेश भरका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बुलगायतका जिल्लामा आंगिक क्याम्पस संचालन गर्ने योजना बनाएको छ ।