प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली जोगबनीमा

सीमा बन्द राख्ने सरकारको निर्णय कागजमै सिमित : फोटो फिचर

विराटनगर । नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागी प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेका छन् ।

भारत प्रवेश गर्ने मुख्यद्धार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दर न्युनीकरणका लागी गत चैत्र ११ गतेदेखि सरकारले भारतीय सीमाहरु बन्द राखेको छ । सरकारको निर्णय बमोजिम भारतीय सीमाहरु हालसम्म बन्द भएपनि चाडपर्वको अवसर पारेर प्रहरीकै अगाडि दिनहुँ हजारौं उपभोक्ता भारतीय बजार जोगबनी देखि फारबिसगञ्जसम्म पुग्ने गरेका छन् ।

बिहान हुने बित्तिकै विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको स्थानीय मोहम्मद मुख्तार हुसैनले बताउनुभयो । उहाँका अनुसार सरकारले सीमा क्षेत्रमा बिशेष निगरानी तथा कडाई नगर्दा दिनहुँ सो क्षेत्रबाट हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारत पुग्ने गरेका छन् । दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवाको आडमा मोरङ र सुनसरीका अधिकांश नेपाली उपभोक्ता बजार पुग्ने गरेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य उपचार, औषधी खरिद र आफन्तसँग भेटघाट बाहेक चाडपर्वको अवसर पारेर किनमेलकै लागी भारतीय बजार जोगबनी पुग्ने सर्वसाधारणको संख्या पनि ठुलो छ । बिशेष गरि अहिले हिन्दु धर्मालम्बीहरुको महान चाड छैठपनि सुरु भएको हुनाले चाडपर्व लक्षित किनमेलका लागी उपभोक्ताहरु भारतीय बजार पुग्ने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने गरेको स्थानीयले बताएका छन् । चामल, पिठो, तेल, नरिवल, चिनी र केरा लगायतका सामाग्रीहरु नेपालभन्दा भारतीय बजारमै सस्तो पाईने भएकाले किनमेलका लागी जोगबनी पुगेको जहदा गाउँपालिका वडा नं. ३ का स्थानीय देवन रामले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जाने बेलामा प्रहरीसँग आग्रह गरेर गयौं, फर्किने बेलामा पनि खासै समस्या भएन ।’

नेपाल सरकारले आफ्ना सम्पुर्ण सीमाहरु बन्द राखेको भएतापनि छिमेकी मुलुक भारतले भने गत कात्र्तिक ६ गतेदेखि आफ्ना सम्पुर्ण सीमानाकाहरु खोलिदिएको छ । भारतीय पक्षबाट कुनै रोकटोक नहुँदा पनि नेपाली उपभोक्तालाई भारतीय बजार पुग्न सहज भएको स्थानीय शिव सहनीले बताउनुभयो । उहाँले सीमाक्षेत्रमा काँडेतार लगाईदिए जह्रैबाट यो समस्याको सामाधान हुने कुरामा जोड दिनुभयो ।

सम्बन्धित बिषयलाई सम्बोद्यन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले भने ठोस कदम चाल्ने जनाएको छ । सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरेर आगामी दिनहरुमा त्यस्तो परिस्थिति सिर्जना हुन नदिईने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खडकाले बताउनुभयो ।

चाडपर्वकै अवसर पारेर दिनहुँ मोरङ र सुनसरीका विभिन्न ठाउँहरुबाट नेपाली उपभोक्ताहरु भारत जाने गरेका छन् । प्रशासनको फितलो निगरानी र कमजोर कारबाही क्षमताका कारण कोरोना संक्रमणको दर बढिरहेको बेला प्रहरीकै मिलेमत्तोमा अवैध तस्करी पनि मौलाएको स्थानीयले बताएका छन् ।

बिहिबार, ०४ मंसिर, २०७७, बिहानको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर