तेह्रथुम । तेह्रथुममा जुवा खेलिरहेका तीन जना वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले म्याङलुङ नगरपालिका–६ का वडाअध्यक्ष इन्द्र लिम्बू, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल सम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई एक लाख रुपैयाँ नगदसहित जुवाखालबाट पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दासमेत दर्ता भएको छ । मंगलबार जिरिखिम्तीको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
सो स्थानमा नियमित जुवा खेल्ने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएकोले पक्राउ गर्न सकेन ।
उनीहरुविरुद्ध प्रहरीले मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाएको छ । वडाध्यक्षहरु नै जुवाखालबाट पक्राउ परेपछि उनीहरुलाई छुटाउन जिल्लाको राजनीतिक नेतृत्व लागिपरेको छ ।