विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको भेन्टिलेटरमा भर्ना भएका सबै कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत बैशाखमा सञ्चानल भएको अस्पतालमा बुधबारसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा मृत्यु भएकामध्ये १४ जनाको आइसियूमा र २१ जनाको भेन्टिलेटरमा मृत्यु भएको हो । अस्पतालको आईसियुमा अहिलेसम्म ७१ जना कोरोना संक्रमित भर्ना भएका छन । भेन्टिलेटरमा अहिलेसम्म भर्ना गरिएका २१ जना संक्रमितमा उपचारको क्रममा सबैको मृत्यु भएको अस्पतालका सूचना अधिकारी आन्नद लामिछानेले जानकारी दिनुभयो ।
चार जना संक्रमितको भने अस्पताल आइपुग्नसाथ मृत्यु भएको छ । भेन्टिलेटरमा पुगेका बिरामी गम्भीर अवस्थाको हुने भएकोले बचाउन नसकेको अस्पतालको भनाई छ । ‘भेन्टिलेटरमा पुगेका विरामी गम्भिर अवस्थामा आएका हुन्छन्,’ कोशी कोभिड अस्पतालका कोअर्डिनेटर डा. डेनप्रसाद आचार्यले भन्नुभयो, ‘सक्दो बचाउने कोशिस गर्दा गर्दै पनि गम्भीर अवस्थामा विरामी बचाउन सकिएको छैन ।’
अस्पतालमा ५ बेड भेन्टिलेटर र १० बेड आईसियु छ ।हालसम्म कोशीको कोभिड अस्पतालको आइसियूबाट ३६ जना निको भएर डिस्चार्ज भएका छन् । अस्पतालका फिजिसियन डा. आचार्यले होम आइसोलेसनमा बसेका बिरामी समयमै अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढ्दै गएको बताउनुभयो ।
विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड अस्पतालमा सबभन्दा धेरै अहिलेसम्म ४१ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा कोभिडको उपचार गर्न सबभन्दा ढिलो थालेको नोबेलमा मृत्यु हुनेको दर भने उच्च छ ।
यसैगरी विराट मेडिकल कलेजको कोभिड अस्पतालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने न्यूरोको कोभिड अस्पतालमा १५ जनाले ज्यान गुमाएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बुधबारसम्म ९७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठका अनुसार प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म १ हजार ७६ जना संक्रमित भर्ना भएकोमा ८ सय ९४ जना निको भएर डिस्चार्ज भएका छन् । झापाको भद्रपुरस्थित मेची अस्पतालमा ३ संक्रमितको मृत्यु भएको छ ।
प्रदेश १ को ६ वटा अस्पतालमा बुधबारसम्म २ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ५३ जनाको अस्पताल ल्याउने क्रममा र होम आइसोलेसनमा मृत्यु भएको छ ।