विराटनगर । मोरङको रतुवामाई नगरपालिका ८ मा निमार्णाधिन ७ किलोमिटर सडकको निर्माण कार्यमा चरम लापरबाही भएको पाइएको छ ।
कट्नु, सुबेदी चौकदेखि जोगी टोल हुँदै मुलडाँडासम्मको ७ किलोमिटर सडकको नाला बनाउने क्रममा ठेकेदार कम्पनीले स्टिमेटबाहिर गएर काम गरेको स्थानीयले बताएका छन् ।
नाला निर्माणका लागि तयार पारिएको मसालामा सिमेन्टभन्दा बढी बालुवा र गिट्टी मिश्रण पाईएको स्थानीयको आरोप छ । नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयको कुल २० करोड ८७ लाख ९४ हजार ७ सय ५३ रुपैयाँ ६४ पैसाको लागतमा उक्त सडकको निर्माण कार्य सुरु भएको थियो ।
२०७६ असोज १३ गते भएको सम्झौता बमोजिम सो सडकको ठेक्का दिवा शाह ईञ्जिनियर जेभी जावलाखेल ललितपुरले पाएको छ । तर, निर्माण कम्पनीले मापदण्ड विपरित कार्य गरिरहेको स्थानीयले बताएका छन् ।
सडकको निर्माण कार्य २०७८ असोज २८ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सो सडकखण्डमा हालसम्म नाला, पाईप कल्भर्ट, बक्स कल्भर्ट, स्यालेब कल्भर्ट र सब बेस निर्माणको कार्य सम्पन्न भएको छ । तर, हालसम्म निर्माण भएको संरचना पनि गुणस्तरहीन रहेको स्थानीय कालीबहादुर आचार्य बताउनुभयो । सडकमा नाला बनाउने काममा सिमेन्टभन्दा बढी गिट्टी र बालुवा प्रयोग भएको पाईएको उहाँको भनाइ छ ।
आर्थिक हिनामिना गर्ने उद्देश्यले निमार्ण कार्यमा ओपिसीको ठाउँमा सस्तो मुल्यको पिपिसी सिमेन्ट प्रयोग भएको पनि स्थानीयले बताएका छधन् । सम्बन्धित विषयमा रतुवामाई–८ का वडाध्यक्ष समेत अनविज्ञ रहेको स्थानीय पर्शुराम न्यौपानेको भनाई छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियरहरुले स्टिमेट फेरबदल गर्दा स्थानीय र आफूलाई कुनै जानकारी नगराएको वडा नंं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाँईंले बताउनुभयो ।