विराटनगर । बुहारीलाई जातीय विभेद गरेको आरोपमा मोरङको उर्लाबारीबाट प्रहरीले बुधवार ६ आरोपीमध्ये दुई जनालाई पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका ४ की ३० वर्षीया कोपिला बर्देवालाई सानो जातको भन्दै ससुराको काजकिरिययाबाट बञ्चित गर्ने उनका श्रीमान दिवस गहतराज र सौता तारा गहतराज पक्राउ परेका हुन् ।
आफू सानो जात भएकै कारण ससुराको काजकिरिया सगोलमा गर्न नपाएको भन्दै कात्तिक २३ गते कोपिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको हो ।
अन्य आरोपीहरुमध्ये सासु ५५ वर्षीया सुनिता गहतराज, जेठी श्रीमती ताराकी बहिनी २५ वर्षीया शारदा घतानी, जेठाजु ४० वर्षीय दिपक र ३८ वर्षीय शम्भु गहतराज फरार छन् । फरार रहेका अन्यहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो ।
कात्तिक १३ गते निधन भएका ७० वर्षीय भीमराज गहतराजका (विश्वकर्मा) कान्छा छोराको कान्छी श्रीमती कोपिलाले आफूलाई सानो (परियार) जातको भन्दै ससुराको अन्तेष्ठि कर्म गर्न नदिएको बताएकी छन् । दस वर्षअघि भीमलालका कान्छा छोरा दिवससँग विवाह गरेकी उनले जातीय विभेद तथा छुवाछुत कसुरमा उनले किटानी जाहेरी दिएकी छन् ।
भिमलालका श्रीमतीहरु भीमादेवी र सुनिता, छोराहरु दिपक, जितेन्द्र, शम्भु र दिवस अनि बुहारीहरु बबिता, राधिका, मुना, राधा र तारा गहतराजले सगोलमा काजकिरिया गरेका थिए । तर, उर्लाबारी २ सुनझोड माइती भएकी कान्छा छोराकी कान्छी श्रीमती कोपिलालाई भने उनीहरुले घरमा छिर्न नै दिएनन् । सानो जातको भन्दै काजकिरियाबाट बंञ्चित गराउने स्वर्गीय भीमराजका जेठा छोरा दिपक गहतराज दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् ।
यसैबीच पीडित कोपिलाले आफूमाथि जातीय विभेद गर्ने श्रीमान दिवस गहतराजसँग सम्बन्ध विच्छेद गराई अंश र मानाचामल दिलाउन जिल्ला अदालत मोरङमा मुद्दासमेत दर्ता गराएकी छन् । आफूलाई विहे गरेर ल्याएपनि श्रीमानले खान लगाउन नदिएको र विभेद गर्दै यातना दिने गरेको भन्दै बुधबार अदालतमा सम्बन्ध विच्छेद र अंश मानाचामलको मुद्दा दर्ता गराएकी हुन् ।
जातीय विभेद गरेको आरोप लागेकी जेठी श्रीमती तारा गहतराजले भने श्रीमान दिवस र कान्छी श्रीमती कोपिला विरुद्ध बहुविवाह गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । बुधबार उनले इप्रका उर्लाबारीमा बहुविवाह आरोपमा जाहेरी दर्ता गराएकी हुन् ।
सानो जातको भन्दै सुसुराको काजकिरियाबाट बञ्चित गर्ने विश्वकर्मा थरका सबै आरोपीहरुलाई कानून अनुसार कडा कार्वाही गर्न विश्वकर्मा एकता प्रदेश १ समितले माग गरेको छ । घटनाको १३ दिनपछि विज्ञप्ती जारी गर्दै समाजका अध्यक्ष गोपाल लकान्द्रीले स्वर्गीय भीमराज गहतराजकी कान्छी बुहारी कोपिलामाथि जातिय विभेद भएको प्रष्ट भएकोले दोषीहरुमाथि कानूनी कार्वाही हुनुपर्ने माग गर्नुभएको हो ।