विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार रातिदेखि मंगलबारसम्म विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा ९ जना, सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा एक जना र होम आइसोलेनमा २ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, न्युरो अस्पतालमा १ जना, बीपी कोभिड अस्पतालमा १ जना र होम आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार विहान ८ः३० बजे नोबेलमा झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो ।
नोबेलमै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको विहान ८ः२० मृत्यु भएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।
झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय पुरुषको नोबेलमै ५ः४५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।
यसैगरि मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।
उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ । वृद्धको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर महानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएका पुरुषको मृत्यु भएको हो ।
विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।
मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको हो ।
विराटनगर ३ का ८९ वर्षीय संक्रमित पुरुषको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना संक्रमणपछि घरमै रहेका उनको सोमबार राति मृत्यु भएको हो ।
उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको चौदण्डीगडी २ का ४२ बर्षीय पुरुषको मृत्यु भएको छ । शारीरिक र मानसिक रुपमा कुनै दीर्घ रोग नभएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा अशिष श्रेष्ठकाअनुसार अस्पतालमा कात्तिक १४ गते भर्ना गरिएका उनमा कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याा २६२ पुगेको छ । जसमा २१ जना प्रदेश नं. २ घर भएकाहरु छन् ।