अनुमतिविना संक्रमितको उपचार, चार जनाको मृत्युपछि अस्पताल बन्द गर्न निर्देशन

विराटनगर । सरकारी निकायको अनुमतिविना कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरको म्याक्स हस्पिटललाई सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ ।

विनाअनुमति र आवश्यक न्युनतम् पूर्वाधार पनि खडा नगरी कोरोना संक्रमण भएका विरामीहरुको उपचार गरिरहेको पाइएपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवा बन्द गर्न निर्देशन दिनुभएको हो ।

प्रशासनले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दासम्म र स्वास्थ्य सम्बन्धि अन्य शर्तहरु पुरा नगर्दासम्म अस्पताल बन्द गर्न निर्देशन दिएको जनाएको छ । प्रशासनले हस्पिटललाई काटेको पत्रमा उपचाररत विरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोकेभन्दा बढी नलिन भनेको छ ।

प्रशासन कार्यालयले अनुमतिविना संवेदनशिल सेवा सञ्चालन गर्नुको कारणबारे लिखित जवाफसमेत माग गरेको छ । विरामीको उपचार गर्दा सरकारले तोकेको आईसोलेसन सम्बन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना नगर्नको कारण माग गर्दै संक्रामक ऐन २०२० अनुसार कारवाही किन नगर्ने भन्दै जवाफ माग गरेको हो ।

म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भने स्थानीय सरकारको अनुमतिमा सेवा सुरु गरिएको बताउनुभयो । आवश्यक कागजात जुटाउने क्रममा रहेको भन्दै उहाँले प्रदेश सरकारसँग पनि अनुमति लिने क्रममा रहेको बताउनुभयो । अस्पतालमा कोभिड उपचार सेवाको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको थियो ।

सो अस्पतालले कोरोना संक्रमितको उपचारमा बिरामीसँग एकैदिनको ८० हजार रुपैयाँसम्म शुल्क असुली गरेको थियो । अनुमतिविना अस्पताल सञ्चालन गरेर बिरामीबाट चर्को शुल्क असुली गरेको अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि सेवा बन्द गर्न निर्देशन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार बिरामीले म्याक्स अस्पतालमा एकदिनको ५० देखि ८० हजारसम्म तिरेको गुनासो प्रशासनमा गरेपछि अनुगमन गर्दा अनुमतिविना अस्पताल सञ्चालन गरेको पाइएको बताउनुभयो । अस्पतालले भने विरामीसँग दैनिक १० हजार, १५ हजार, २० हजार र ३० हजार शुल्क तोकेको जनाएको छ । भेन्टिलेटरमा बस्ने बिरामीले दैनिक ३० हजार तिर्नुपर्ने उसको भनाइ छ ।

प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको भन्दै अस्पतालले हाल ११ जना कोरोना संक्रमित उपचाररत रहेको जनाएको छ । सरकारले तोकेको शुल्कमा संक्रमितको उपचार गर्न नसक्ने उसको भनाइ छ ।

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको अस्पतालले कात्तिक पहिलो साताबाट अन्य सेवा बन्द गरेर कोरोना संक्रमितको उपचार सुरु गरेको थियो । अस्पतालमा संक्रमितलाई दिइने खानेकुरा र बस्ने बेडको व्यवस्था पनि राम्रो नभएको पाइएको छ ।

प्रशासनले अनुमति नलिई अस्पताल सञ्चालन गरेका कारण बिरामीलाई अन्यन्त्र रेफर गरेर अस्पताल बन्द गरी लिखित स्पष्टिकरण सोधिएको बताएको छ । अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।

सोमबार, २४ कार्तिक, २०७७, दिउँसोको १२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर