प्रदेश १ मा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४४ पुग्यो

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिकल कलेजमा एक, म्याक्स अस्पतालमा एक, झापामा होम आइसोलेसनमा दुई र बीपी कोभिड अस्पताल धरानमा एक जनाको मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आइतबार बिहान १०ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको १२ दिनपछि पुरुषको ज्यान गएको हो । देवका अनुसार मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

विराटमै धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको बिहान ८ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा निमोनियासँगै फोक्सो, मृगौला र मुटुको पुरानै समस्या थियो ।

विराटनगरकै नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना गरिएका बृद्धको आइतबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

यसैगरी म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो १ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

उता झापामा कोरोना भाइरस संक्रमणबाट पूर्व गाविस सचिवसहित थप दुई जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय पूर्वगाविस सचिव कुमुदचन्द्र झाको आफ्नै घरमा आइतबार बिहान ४ बजेर १५ मिनेट मृत्यु भएको हो ।

कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीका अनुसार दिर्घरोगी झा लामो समयदेखि सिकिस्त थिए । झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए ।

त्यस्तै कोरोना संक्रमित एक वृद्धाको झापकै अर्जुनधारामा आइतबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीय महिला रहेकी छन् । उनको घरमै मृत्यु भएको वडा अध्यक्ष लोकनाथ गौतमले जानकारी दिनुभयो । उनको विराट मेडिकल कलेज विराटनगरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट शनिवार मात्रै पोजेटिभ आएको थियो ।

यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको क्रममा वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४४ पुगेको छ । जसमा २० जना प्रदेश नं. २ घर भएकाहरु छन् ।

आइतबार, २३ कार्तिक, २०७७, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर