विराटनगर । विराटनगर भन्सारबाट पछिल्लो चालु आर्थिक बर्षको पछिल्लो ३ महिनाको अवद्यिमा १ करोड ३ लाख मुख्य बराबरको झिलिमिली बत्ती आयात भएको छ ।
विजयादशमी सकिए लगत्तै बिशेष गरि आउँदै गरेको तिहार र छठपर्व लगायतका चाडपर्वलाई लक्षित गर्दै भन्सारबाट सो मुल्य बराबरको भिलीमिली बत्ती आयात भएको हो । चालु आर्थिक बर्षको असोज मसान्तसम्म ५७ रुँपैया ३० पैसा प्रति युनिटका दरले कुल १ लाख ७९ हजार ८ सय ९१ युनिट झिलिमिली बत्ती नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ को यही अवद्यिमा विराटनगर भन्सारबाट ५४ रुँपैया २१ पैसा प्रति युनिटका दरले १ करोड ४८ लाख ३२ हजार १ सय रुँपैया मुल्यको २ लाख ७३ हजार ५ सय ६५ युनिट झिलिमिली बत्ती आयात भएको थियो ।
तिहार नजिकिएसँगै करोडौं मुल्य बराबरको झिलिमिली बत्ती आयात भएपनि यसबर्ष फुलको आयात भने शुन्य रहेको छ । कोरोना महामारीका कारण फुलको आयात प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । यसबर्ष फुलको आयात शुन्य भएपनि आर्थिक बर्ष २०७६/०७७ मा भने विराटनगर भन्सारबाट ५७ लाख ९६ हजार २ सय ३५ रुँपैया मुल्यको ६३.८२ मेट्रिक टन फुल आयात भएको थियो । यस्तै आर्थिक बर्ष २०७५/०७६ मा पनि ३५ लाख १२ हजार ९ सय ४७ रुँपैया मुल्यको ६०.१८ मेट्रिक टन फुलको आयात भएको भन्सार कार्यालयकी सुचना अधिकारी सुनिता पौडेलले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण प्रशासनले अन्य बर्षहरु झैं चाडपर्व मनाउन रोक लगाएपछि यसबर्ष फुलको खपत बढी नहुने अनुमानसहित बजारमा फुलको माग शुन्य भएसँगै आयात पनि शुन्य भएको भन्सार कार्यालयको बिश्लेषण छ । यसबाहेक अन्तराष्ट्रिय सीमा नाकाहरु हालसम्म बन्द हुँदा रिक्सा र ठेलामा आयात हुने फुलहरु पनि भित्रन नसेकेको कार्यालयले जनाएको छ ।