विराटनगर । होम आइसोलेसनमा बसेका एकसहित विराटनगरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आफ्नै घरमा मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि बुधबार दिउँसो स्वाब संकलन गरिएका उनको रिपोर्ट पोजेटिभ आएको थियो । नोबेल मेडिकल कलेजको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएकोमा राति ९ बजे वृद्धको आफ्नै घरमा मृत्यु भएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगरकै म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको थियो ।
यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो ।
सोही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।