विराटनगर । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न विराटनगर महानगरपालिकाले शुल्क लिन थालेको छ ।
संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरले ५१० रुपैयाँ शुल्क लिन थालेको हो ।
संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन । पहिले यस्तो शुल्क नलिएको महानगरले पछिल्लो पटक सबै वडा कार्यालयमा परिपत्र गरि शुल्क लिन भनेको छ ।
महानगरको निर्देशन गलत रहेको भन्दै केही वडाले भने शुल्क उठाएका छैनन । बिमा प्रयोजनाका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताउनुभयो ।
महानगरपालिकाले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेको छ ।

