विराटनगर । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गएको १० वर्षदेखि माइस्थेनीया रोगबाट पीडित सीताको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो ।
कोरोना संक्रमण पनि पुष्टि भएपछि उनको अवस्था गम्भीर बनेको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै बचाउने प्रयास गरिए पनि सम्भव नभएको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि सीतालाई केही दिनअघि दाङबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला उनलाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा पुरानो समस्यासँगै कोरोना संक्रमण, निमोनिया र श्वासप्रश्वासको पनि समस्या थपिएकोले १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै निधन भएको अस्पतालले पुष्टि गरेको छ।
२०१८ साउन १३ गते रोल्पामा जन्मेकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। महरा दम्पत्तिका दुई छोरा र दुई छोरी छन्।
महरासगै सीता र परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।