विराटनगरमा दुई जना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना भाइरस संक्रमित पुरुषक मृत्यु भएको छ ।

उपचारको क्रममा एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जनाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । कोरोना देखिएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

सोमबार, १७ कार्तिक, २०७७, बिहानको ०९:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर