एकैसाथ ३० कर्मचारीमा कोरोना देखिएपछि विराटनगरको विद्युत प्राधिकरण बन्द

विराटनगर । कार्यालयका ३० कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ ।

दुई दिनमा ३० कर्मचारीमा कोराना संक्रमण देखिएपछि सार्वजनिक सूचना नै जारी गरेर कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द गरिएको हो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिनुभयो। वितरण केन्द्रको महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको छ ।

बिहीबारसम्म प्राधिकरणमा महसुल तिर्न जाने र नयाँ मिटर जडान गर्न जाने सेवाग्राहीको भीड लाग्ने गरेको थियो। प्राधिकरणको प्रशासन र प्राविधिक दुवै तर्फका कर्मचारीमा संक्रमण देखिएको छ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रमा स्थायी र करार गरेर एक सय ८० कर्मचारी छन्। ८० जनाको परीक्षण गर्दा ३० जनामा कोरोना देखिएको छ भने अन्य एक सय कर्मचारीको परीक्षण गर्न बाँकी छ ।

संक्रमित कर्मचारी कोरोना मुक्त भएर अवस्था सहज बनेपछि मात्रै कार्यालय सञ्चालन गर्न सकिने सिंहले बताउनुभयो । यसअघि कार्यालयमा कार्यारत विराटनगर महानगरपालिका ३ घर भएका ५६ वर्षीय पुरुषको साउन २७ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

शुक्रबार, ३० असोज, २०७७, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर