संक्रमण फैलन नदिन सुनसरीमा निषेधाज्ञा

इटहरी । चाडपर्वको बेला हुने भिडभाडको कारण कोरोना भाइरसको संक्रमण थप फैलने जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारबाट जिल्लाभर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

संक्रमण थप फैलन नदिने जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

सुनसरी प्रशासनले जिल्लाका १२ वटै स्थानीय निकायमा राजनीतिक दललाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेला भएर पूजापाठ गर्न, दसैंतिहार शुभकामना आदानप्रदान तथा शिलन्यास गर्न रोक लगाएको छ । कोरोना महामारीबीच राजनीतिक दलहरुले पार्टी प्रवेशसहितका विभिनन कार्यक्रम जारी राखेपछि प्रशासनले कडाई गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरी सबै स्थानमा प्रहरी परिचालन गरेर कडाई गरिएको पनि जानकारी दिनुभयो । दसैं नजिकिदै गएको समयमा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिनसमेत प्रतिबन्ध लगाइको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गर्ने पनि प्रशासनले जनाएको छ ।

शुक्रबार, ३० असोज, २०७७, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर