लोड हुँदैछ...

मेनु

प्रहरीले जनताको विश्वास जित्नुपर्छः मुख्यमन्त्री

प्रहरीले जनताको विश्वास जित्नुपर्छः मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय प्रणालीको अभ्यास भइरहेको बेला यसको भावनालाई आत्मसाथ गरेर प्रहरी संगठन पनि संघीयताको मर्म अनुसार शान्ति सुरक्षा कायम गरि जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आगामी दिनमा संघीयताको भावना र मर्म अनुसार प्रहरीले आफ्नो भूमिका देखाउँदै शान्ति सुरक्षा कायम गर्दै अगाडि बढनुपर्ने बताउनुभएको हो ।

शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम गर्दै प्रहरी संगठनलाई साधनस्रोतले युक्त बनाएर प्रविधिको प्रयोग गरि सुरक्षा प्रणालीमा अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो । प्रहरी कर्मचारीहरू कर्तब्यनिष्ट भएर काम गरिनुपर्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

प्रहरी फोर्सलाई सक्षम, दक्ष र साधन स्रोतसम्पन्न बनाउन तीन तहको सरकार लाग्नुपर्ने मुख्यमन्त्री राईले बताउनुभयो । ‘प्रहरी संगठन मानव अधिकार, अपराधिक अनुसन्धानको खातिर आफूलाई अब्बल सावित गर्दै आएको छ,’ मुख्यमन्त्री राईले भने, ‘आगामी दिनहरुमा पनि आफ्नो पहिचान र छविलाई कायम गर्दै अगाडि बढ्नुपर्दछ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समायोजनको अन्तिम पर्खाइमा रहेको बताउँदै केही दिनभित्रमा प्रहरी समायोजनको बाटो टुंगो लाग्ने भनाई छ । प्रदेश प्रहरी समायोजन भएपछि प्रहरी संगठन गठन गर्ने अधिकार प्रदेश सरकारले प्राप्त गर्ने उहाँको भनाइ छ ।

प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकार लागि परेको भन्दै मन्त्री कार्कीले भन्नुभयो ‘प्रदेशभित्र ५५ भवन प्रहरीको भवन निर्माण बन्दैछ ।’ उहाँले सिमा क्षेत्रलाई सुरक्षित बनाउन १४ वटा बोर्डर आउटपोस्ट निर्माण भएको र आगामी वर्षहरुमा आवश्यक प्रहरी भवन निर्माण गरि स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकार लाग्ने बताउनुभयो ।

धरानमा रहेको फरेन्सिक ल्याबलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले लाग्ने पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नं. १ का डिआइजी ईश्वरबाबु कार्कीले नेपाल प्रहरी कटिबद्ध भएर शान्ति सुरक्षा कायम गराउन लागि परेको बताउनुभयो । उनले शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण गरि समाजलाई चेतनशिल बनाउन सबै लाग्नुपर्ने डिआइजी कार्कीले बताए ।

उत्कृष्ट प्रहरी सम्मानित
कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने प्रहरीहरू सम्मानित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सुनसरी प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल पुरस्कृत भएका छन् । उनले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै उत्कृष्ट कार्यसम्पदान गर्ने इप्रका पथरी डिएसपी दिलिप गिरी, उत्कृष्ट ट्राफिक प्रहरी व्यवस्थापन गर्दै आएका मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दार, जोखिम पूर्ण कार्य सम्पादन गरेको भन्दै प्रहरी चौकी रानी भनज्याङ्गका प्रहरी सुवास चौधरीलाई सम्मान गरिएको छ ।

उत्कृष्ट कार्यसम्पदानमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी निरीक्षक हेमकुमार बस्नेत, अभिलेख व्यवस्थापनमा उत्कृष्ट काम गर्ने भुवन श्रेष्ठ, व्यवस्थापनमा उत्कृकष्ट कार्यसम्पन्दा गर्ने राजकुमार कार्की, महिलातर्फ दंगा नियन्त्रण कार्यालय दुहबीका प्रहरी रक्षा राई सम्मानित भएकी छन् । सो अवसरमा प्रहरी परिवारका उत्कृष्ठ विद्यार्थीलाई छात्रबृत्तिसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।