विराटनगर । विराटनगरमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर ३ का पुरुषको नोबेल मेडिकल कलेजमा, मोरङको रतुवामाईका संक्रमितको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर जाने क्रममा र सिरहाका संक्रमितको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ बुद्धचोकका कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । अस्पताल प्रबन्ध नारायण दाहालका अनुसार ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको बताइएको छ ।

यसैगरी विराट नर्सिङ होममा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि डिस्चार्ज गरिएका रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालले डिस्चार्ज दिएपछि आफन्तले बिहीबार बेलुका घर लिएर जाने क्रममा ७ः४० बजे बाटैमा मृत्यु भएको हो ।

परिवारका सदस्यका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको बताइएको छ । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने अस्पतालबाट बिरामीलाई आफन्तले लिएर गएपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको जानकारी आफूले आएको बताउँदै त्यसबारे थप अध्ययन भइरहेको बताउनुभएको छ ।

यस्तै विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सिरहाको लहान नगरपालिका ६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण असोज २५ गते अस्पताल भर्ना भएका ती पुरुषको स्वाब परीक्षण गर्दा २६ गते रिपोर्ट पोजिटिभ आएको थियो ।