लोड हुँदैछ...

मेनु

कोभिड अस्पताललाई चुस्तदुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

कोभिड अस्पताललाई चुस्तदुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

कोभिड अस्पतालमा बेतिथि बढेको भन्दै गुनासो आउने क्रम बढेपछि बिहीबार मन्त्री घिमिरेको टोली प्रतिष्ठान पुगेको थियो ।

कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामा नै उपकरणहरु विग्रिनुको कारण र कोरोनाका गम्भीर प्रकारका विरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे मन्त्री घिमिरेले जानकारी लिनुभएको छ । उहाँले प्रतिष्ठानका कमजोरीहरु तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन दिनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामानै कसरी भेन्टुलेटर विग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रश्न गर्नुभएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा प्रदेश र प्रदेश बाहिरका गम्भीर प्रकृतिका विरामीले उपचार पाउनुपर्नेमा पछिल्लो समय उपचार नपाईरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रतिष्ठानको बेतिथिको बारेमा प्रश्न उठाउनुभएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई दिनुभएको छ । सामाजिक विकास मन्त्रीसँगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको छ । अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको र चाडै पुरा हुने उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिनुभयो । कोभिड अस्पतालको ९ वटा भेन्टिलेटरमध्ये ५ वटा चलिरहेको र बाँकी ४ वटा विग्रिएकोले मर्मत भईरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले सो अवसरमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।