धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकटहरेकी एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् ।
घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको बुधबार राति हत्या गरेकी हुन् ।
लीलबहादुरले बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिकारीले जानकारी दिनुभयो । मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
राति कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर बलात्कार प्रयास गरेको महिलाको भनाइ छ । त्यसक्रममा खुकुरी भेटेर हानेको उनलेले बयान दिएकी छन् । खुकुरी प्रहारपछि घाइते भएका लीलबहादुर भागेकोमा बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियो ।
श्रीमतिले अर्को विवाह गरेपछि ३० वर्षीय मृतक लीलबहादुर दुई छोरासँग बस्दै आएका थिए । बलात्कारको प्रतिकार गर्ने महिलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । उनी ११ वर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।

