रेमडिसिभिर उपलब्ध गराउन माग

विराटनगर । नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडिसिभिर इन्जेक्सनको’ प्रयोग हुन थालेपछि कालोबजारी हुने गरेकोले बिकृति नियन्त्रण गरि राज्यले सहज रूपमा रेमडिसिभिर उपलब्ध गराउनुपर्ने माग औषधी व्यवसायीहरूले राखेका छन् ।

नेपाल औषधी व्यवसायी महासंघ मोरङ शाखाले बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई भेटेर रेमडिसिभिर इन्जेक्सन सहज रूपमा उपलब्ध गराउन माग गरेको हो ।

नेपाल औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि व्यवसायीले ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल र महासचिब दिनेश ठाकुरले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए ।

संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडिसिभिर इन्जेक्सनको कालोबजारी सुरु हुन थालेको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ५० देखि ६० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको व्यवसायीको भनाइ छ ।

राज्यले रेमडिसिभिर इन्जेक्सन सहज उपलब्ध नगराउँदा अहिले महंगोलमा विरामीका आफन्तले खरिद गर्न बाध्य भएको नेपाल औषधी व्यवसायी महासंघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताउनुभयो । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?’ उहाँले भन्नुभयो, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा हुनेले पो तिर्न सकेपनि पैसा नहुनेले महंगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’ कालोबजारी रोक्न सहज रूपमा रेमडिसिभिर इन्जेक्सन उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

बुधबार, २८ असोज, २०७७, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर