नोबेलको लापरवाही प्रकरणः विरामीको मृत्युपछि दुई दिनदेखि तनाब

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले गम्भीर लापर्बाही गरेको कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि अस्पताल तनाबग्रस्त बनेको छ ।

पेटमा समस्या भएपछि आइतबार नोबेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बुको नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै आन्दोलन गरिरहेका छन् ।

पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले आफन्तलाई जानकारी गराएको थियो । शल्यक्रियाको क्रममा आन्द्रा काटिएकोले उनको मृत्यु भएको भन्दै आफन्तले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग राख्दै मंगलबार दिनभर आन्दोलन गरेका थिए ।

पीडित पक्षले राखेको मागको सुनवाइ नभएपछि उनीहरूले बुधबार दोस्रो दिन पनि अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतकका छोराछोरीको अध्ययनमा लाग्ने खर्च अस्पतालले व्यहोर्नुपर्नेलगायतको माग राख्दै दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघरमा भएको ट्युमरको शल्यक्रिया गर्न तारालाई नोबेलमा भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डाक्टार शान्ति सुवेदीको टिमले शल्यक्रियाका लागि उनलाई अप्रेशन थिएटरभित्र हुलेका थिए । करिब एक घण्टापछि शल्यक्रिया सफल भएको भन्दै डाक्टरले उनलाई आइसियूमा सारे ।

अप्रेशन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको श्रीमान ओमको भनाइ छ । तर, सोमबार साँझ पुनः रक्तश्राब नरोकिएकोले तुरुन्त अप्रेशन गर्नुपर्ने भन्दै चिकित्सकको टोलीले हतार–हतार तारालाई अप्रेशन थिएटरमा लगेका थिए । त्यसको आधा घण्टापछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर उनलाई भेण्टिलेटरमा राखेका चिकित्सकले मंगलबार विहान मृत्युको जानकारी दिएको उहाँको भनाइ छ ।

‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको बताएका थिए’ ओमले भन्नुभयो, ‘तर, शल्यक्रिया अघि परीक्षण गर्दा ट्यूमर नदेखिएकोमा चित्सिकले ट्यूमर रहेको बताएपछि छक्क परेँ।’ ट्युमर निकाल्ने भन्दै चिकित्सकले विरामीको आन्द्रा काटिदिएको उहाँको आरोप छ ।

पाठेघरको अप्रेशन गर्दा आन्द्रा काटिदिएका श्रीमतीको मृत्यु भएको परिवारको दावी छ । पाठेघरको अप्रेशन भनेर आन्द्रा काटिदिएएको श्रीमान ओमले बताउनुभयो । मृत्युपछि उपचारमा लापरवाही गर्नेलाई कारवाहीको माग राखेको र आफ्ना माग सम्बोधन नभएसम्म श्रीमतिको शव नउठाउने उहाँले बताउनुभयो ।

अस्पतालका प्रबन्धक नारयण दाहालले भने विरामीको उपचारको क्रममा मृत्यु भएकोले अस्पतालले कुनै लापरबाही नगरेको दाबी गर्नुभयो । ‘पाठेघरमा ट्युमर भएपछि अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरि २ केजीको ट्युमर निकालेको छ,’ उहाँले भन्नुभयोे, ‘शल्यक्रियापछि पनि विरामीको अवस्था ठिकै थियो, थप उपचारको क्रममा यस्तो हुनपुग्यो ।’

बुधबार, २८ असोज, २०७७, साँझको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर