धनकुटा । सामाजिक सुरक्षा भत्ता लिन ४ घण्टा पैदल हिँडेर धनकुटा नगरपालिका–२ भीरगाउँकी ७५ वर्षीया हर्कमाया राई धनकुटा बजार आपुग्नुभयो । भत्ताको कागजपत्र मिलाउन सकस परेपनि प्रक्रिया पुरा भएपछि उहाँले भत्ता प्राप्त गर्नुभयो ।
यसअघि घर आँगनमै स्थानीय तहमार्फत चौमासिक रूपमा भत्ता बुझ्दै आएका जेष्ठ नागरिकहरु बैंकबाटै भत्ता भुक्तानी हुन थालेपछि समस्या भएको बताउँछन् ।
धनकुटा नगरपालिका–८ की ७२ वर्षीया चन्द्रीमाया आठपहरियाले पनि ज्येष्ठ नागरिक भत्ता लिन धेरै झन्झट बेहोरेको बताउनुभयो । भत्ता लिन धेरै समय खर्चनुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उहाँको भनाइ छ ।
पहिले घरमै दिने भत्ता लिन अहिले बैंकमा जानुपर्ने बाध्यता भएको उनीहरुको भनाइ छ । पहिले एकपटक बैंकबाट दिन थालेको भत्ता फेरि घरैमा दिन थालेको थियो, अहिले फेरि झन्झट र समस्या भयो– उनीहरु भन्छन् । बैंकिङ प्रणालीले ज्येष्ठ नागरिकलाई सास्ती भएको उनीहरुको दुखेसो छ ।
जेष्ठ नागरिकलाई घर–घरमा भत्ता बाँड्ने प्रचार सरकारले गरेको पनि काम नगरेको उनीहरु बताउँछन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा भत्ता दिएपनि हाल बैकिङ प्रणाली अनिवार्य भएपछि वृद्धवृद्धालाई सास्ती थपिएको हो ।
धनकुटा नगरपालिकाका भीरगाँउ, बेलहारा, टेकुनाला, सान्ताङ, याक्तेलगायत ठाउँ धनकुटा बजारबाट भौगोलिक हिसाबले टाढा छन् । ज्येष्ठ नागरिकहरु भत्ता बुझ्नकै लागि हिँडेरै जानुपर्ने बाध्यता छ । कतिपय त एक दिनमा काम नसकिएपछि बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर फर्कनुपर्ने बाध्यता छ ।
दसैं नजिकिएसँगै यसै पनि भीड हुने बैंकमा सामाजिक सुरक्षा भत्ता पनि त्यहीँबाट दिइने भएपछि झनै भीड थपिएको छ । जसले कोरोनाको जोखिममा रहेका जेष्ठ नागरिकहरु थप त्रसित छन् ।
झन्झटिलो बैंकिङ प्रणाली र व्यवस्थाले कोरोना संक्रमण झनै बढेको छ । सामाजिक सुरक्षाको भत्ताका नाममा बैंकिङ प्रणालीले असुरक्षा भएको गुनासो उनीहरूले गरेका छन् ।

