धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोलीले सोमबार रातिसम्म कोभिड अस्पतालको उपचार, अस्पतालमा खरिद गरिएको सामान र प्रक्रियाबारे छलफल गरेको हो ।
कोभिड अस्पताल सञ्चालनको क्रममा आवश्यक सामान खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीहरुले अनियमितता गरेको आरोप लाग्दै आएको छ । त्यसबारे उजुरी परेपछि अख्तियारले छानविन थालेको हो ।
कोभिड अस्पतालमा खरिद गरिएका १० भेन्टिलेटरमध्ये ६ वटा बिग्रिएको र बिरामीले उपचार नपाएको विषय बाहिर आएपछि अख्तियारको टोलीले कोभिड अस्पतालको स्थलगत निरीक्षणसमेत गरेको छ । विरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले विरोध जनाउँदै आएका छन् ।
ठेकेदारसँगको मिलेमतोमा प्रक्रिया विपरित खरिद गरिएका भेन्टिलेटर दुई महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएपछि छानविन अगाडि बढाइएको अख्तियार इटहरीका प्रमुख प्रकास पौडेलले बताउनुभयो । शंकास्पद खरिद प्रक्रियाका सबै विवरण माग गरिएको अख्तियारले जनाएको छ ।
कोभिड अस्पतलामा चहिने औषधि उपकरण खरिद गर्दा विशेष अदालतमा प्रतिष्ठानकै सामाग्री आपूर्तीमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका धरानका व्यवसायी चेतन अग्रवालसँग खरिद गरिएपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरीको नियतमाथि प्रश्न उठिरहेको छ । कोभिड अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको सिरफारिसका आधारमा मात्र उपकुलपतिले स्वीकृत गरी टेन्डर गरी खरिद गर्नुपर्ने प्रावधान छ । तर, सामान खरिदमा प्रक्रिया पुरा भएको छैन ।
उपकुलपति गिरीको अनावश्यक दबाब र हस्तक्षेपका कारण कोभिड अस्पताल प्रमुख कृष्णा पोखरेलले राजीनामा दिनुभएको थियो भने प्रतिष्ठानको खरिद शाखा प्रमुख विष्णु चापागाईलाई औषधि उपकरण खरिदमा असहयोग गरेको सरुवा गरिएको थियो । प्रतिष्ठानमा औषधि खरिद गर्ने अधिकार रजिष्ट्रार र अस्पताल निर्देशकलाई मात्र हुने भएपनि उपकुलपति डा.गिरीले दुवैजनाको अधिकार खोसेर आफै कोभिड अस्पतालमा चाहिने औषधि उपकरण खरिद गरेको बताइएको छ ।
गिरी नियमित कार्यालयमा नबसेकै कारण चिकित्सक, नर्स र कर्मचारीको बढुवा प्रक्रिया समेत रोकिएको र वृद्धि भएको तलब समेत नपाएको प्रतिष्ठानको भन्दै चिकित्सक र कर्मचारी आन्दोलनमा छन् ।