लोड हुँदैछ...

मेनु

इटहरीमा कामविना हिँडडुल गर्न प्रतिबन्ध

इटहरीमा कामविना हिँडडुल गर्न प्रतिबन्ध

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना नियन्त्रणका लागि रेडजोनसहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा बसेको बैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो ।

उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र, बसपार्क, तरहरा बजार, खनार बजार र पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी बढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय, इटहरी अस्पताल, यातायात, बैंकहरु र विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि विनाप्रयोजन हिँडडुल गर्न बन्द गर्ने निर्णय भएको छ ।

मास्क नलगाई हिँडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपैयाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने बताइएको छ । प्रत्येक पसल, कार्यालय अगाडि साबुनपानीको ब्यवस्था गर्ने, नगरेको पाइए एक पटक सचेत गराउने, पुनः उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि सिफारिस गरिने भएको छ ।

यसैगरी साप्ताहिक हटिया बन्द गर्ने पनि निर्णय गरिएको छ । त्यसैगरी कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिबन्ध गरिएको छ । जेष्ठ नागरिक, दम, मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवती, सुत्केरी र बालवालिकालाई उपचारका लागि बाहेक हिँडडुलमा रोक लगाइएको छ ।

नगरप्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् । उपमेयर गौतमले मापदण्ड बनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्ने बताउनुभएको छ । एक महिनाअघि नै मापदण्ड लागू गरिएको भए अहिलेको जति क्षति नहुने उहाँको भनाइ छ ।

होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २ सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।