भारतीय बजार गएर फर्कनेलाई पक्राउ गर्दै क्वारेन्टिनमा राख्न सुरु

विराटनगर । नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सिल गरेको अवस्थामा चोरबाटोबाट जोगवनीमा किनमेल गर्न जानेलाई स्थानीय प्रशासनले क्वारेन्टिनमा राख्न थालेको छ ।

सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय बजार जोगवनीमा लुकीछिपी र चोरबाटो प्रयोग गर्दै गएर किनमेल गरि फर्किनेलाई क्वारेन्टिनमा राख्न थालेको हो ।

लुकीछिपी शनिबार र आइतबार जोगवनी बजार गएर फर्किएका ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार नियन्त्रणमा लिएका ४५ जनालाई मोरङ प्रहरीले होम क्वारेन्टिनमा बस्ने समझदारी गरेपछि आफन्तलाई जिम्मा लगाएर पठाएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

आइतबार पनि प्रहरीले जोगवनीमा किनमेल गरेर फर्किएका ४० जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई विराटनगरस्थित डिएभी स्कूलको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टिनमा पठाउने एसपी खड्काले जानकारी दिनुभयो ।

सीमा क्षेत्रबाट पछिल्लो समयमा तस्करीसँगै भारतीय बजार गएर किनमेल गर्ने प्रबृत्ति बढेको विषयमा हाम्रोमतले समाचार प्रकाशित गरेपछि प्रहरीले कडाई गरेको हो । ‘शनिबार नियन्त्रणमा लिएकाहरूलाई सम्झाइबुझाइ गरि आफन्तलाई जिम्मा लगाएर साँझमा छोडियो,’ एसपी खड्काले भन्नुभयो, ‘आइतबार नियन्त्रणमा लिएकालाई भने क्वारेन्टिनमा लैजाने तयारी भएको छ ।’

सिमावर्ती बजार जोगवनी जान विराटनगर, बुढीगंगाा, सुनसरीको बर्जु गाउँपालिकाहरूका धेरै जाने गरेको पाइएको छ । जोगवनी बजार जाने अधिकांश पोके व्यापारी छन् । उनीहरूले भारतीय बजारमा खरिद गरेको ल्याएको सामाग्री नेपाली बजारमा विक्री गर्ने गर्दछन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल–भारत सीमा सिल गरेपनि चोरबाटोबाट किनमेल गर्न पारि जानेको संख्या घटेको छैन । चाडबाड नजिकिएसँगै पूर्वी तराईका भारतसँग सीमा जोडिएका गाउँ–बस्तीका बासिन्दा भारतीय बजार जान थालेका छन् ।

सरकारले प्रदेश १ मा मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट मात्र सरकारी अनुमतिमा नेपाल–भारत आउजाउ गर्न पाउने व्यवस्था गरेको छ । ती चार बाहेक अन्य नाकाबाट आवागमनमा पूर्णतः रोक लगाइएको छ । ती नाकाबाट आउजाउ गर्न पनि स्थानीय तहको सिफारिस र स्थानीय प्रशासनको अनुमति चाहिन्छ ।

चोरबाटो प्रयोग गरेर भारतीय बजारमा गई किनमेल गरेर नेपाल फर्कनेलाई मोरङ प्रशासनले १४ दिन क्वारेन्टाइनमा राख्न सुरू गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो । अहिले विराटनगर रानीको सीमा जोडिएको इस्लामपुर बस्तीसित जोडिएको ढाट, दैरैयाबस्ती, विराटनगर –१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत गएर किनमेल गरेर फर्किएकालाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि पनि सशस्त्र प्रहरीले भारतीय बजारबाट फर्किएकालाई क्वारेन्टिनमा लैजान सीमा स्थलमा गाडी खडा गरेपछि भागाभाग मच्चिएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गाडी देखेर कतिपय भारततर्फ नै भागेका थिए भने कतिपय मालसामान बाटामै फालेर दौडिएका थिए ।

भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३६ वटा नाका छन् । चाडपर्वको आगमनसँगै दैनिक उपभोग्य सामान खरिद गर्न भारतको सीमावर्ती बजार जाने नेपाली उपभोक्ताको परम्परा रहँदै आएको छ ।

प्रजिअ निरौलाले सीमा नाका पूर्णतः बन्द गरिएका अवस्थामा कोही पनि नेपाली नागरिक अनाधिकृत रूपमा भारततर्फ जान्छन् भने उसलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारन्टिनमा राख्नेछ । उनीहरुलाई २ साता क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्र छाडिने उहाँले बताउनुभयो ।

सोमबार, २६ असोज, २०७७, बिहानको ०८:३८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर