विराटनगर । झापाको कमल गाउँपालिका र खोटाङको दिक्तेल रुपाकोट मुझवागडीमा श्रीमतिको हत्या गर्नेहरु पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कमल २ त्रिवेणी चौक वस्ने ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । शनिबार साँझ पौने ६ बजे थापाले २४ वर्षीया आफ्नै श्रीमती रीता थापाको हत्या गरेका हुन् ।
घरायसी विवादमा थापाले आफ्नै श्रीमती रीतालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तर्गत मुद्दामा कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी २ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय छत्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ वर्षीया ज्ञानकुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा उनीहरुबीच घरायसी विषयमा सामान्य विबाद हुँदा छत्रबहादुरले मसला पिस्ने लोहोरोले ज्ञानकुमारीलाई कञ्चटमा प्रहार गर्दा उनी गम्भीर घाईते भएकी थिइन् ।
घाइते ज्ञानकुमारीलाई थप उपचारको लागि काठमाडौं लैजाँदै उर्दा उनको बाटोमै मृत्यु भएको थियो । श्रीमतीलाई लोहोरोले कञ्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनीउपर कर्तब्य ज्यान अन्तर्गत मुद्दामा कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।