विराटनगर । महिलाहरुमाथि भइरहेका हिंसाका घटना नियन्त्रण गर्न र अपराध ढाकछोप गर्ने दोषीहरुलाई कानूनी कार्वाही गर्न अधिकारकर्मीहरुले प्रदेश १ सरकारको ध्यानार्कषण गराएका छन् ।
विश्व अहिंसा दिवसको दिन शुक्रबार महिलाहरुमाथि भइरहेको हत्याहिंसा विरुद्ध ‘मौनता तोडौं’ राष्ट्रिय अभियानको पहिलो दिन महिला पुनस्र्थापना केन्द्र ओरेकको अगुवाईमा अधिकारकर्मीहरुले धर्नासहित प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विराटनगरस्थित प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अगाडि अधिकारकर्मीहरुले हिंसा विरुद्ध ‘मौनता तोडांै’ भन्ने व्यानर र प्लेकार्ड बोकेर एक घण्टा धर्ना दिएका थिए । त्यसपछि उनीहरुले महिलाहरुमाथि भइरहेको हिंसा विरुद्ध कार्वाहीको मागगर्दै मन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाए ।
कोरोना संक्रमण कालमा महिलाहरुमाथि निरन्तर हत्या र बलात्कारका घटना बढेको भन्दै विश्व अहिंसा दिवस २ अक्टोबरदेखि विश्व मानवअधिकार दिवस १० डिसेम्बरसम्म ‘मौनता तोडांै’ मुलनारासहित ओरेकको अगुवाईमा राष्ट्रिय अभियान सुरु भएको हो । ओरेकले जानकारी गराएअनुसार बन्दाबन्दीपछि ४७ जना महिलाको हत्या भएको छ भने ३ सय १९ बलात्कारका घटनाहरुमध्ये ७५ प्रतिशत १८ वर्ष मुनिका बालिकाहरु छन् ।
बलात्कारमा परेका बालिकाहरु सम्झना विक, संगीता मण्डल, कञ्चन पञ्जियार, आकृति राई, निर्मला पन्तलगायत पुर्णिमा मोक्तान, सर्मिला दनुवारसहित धेरैले ज्यान गुमाएका छन् । तर, जघन्य अपराध गर्नेहरुविरुद्ध अझै कायमै रहेको मौनताको संस्कृतिले पीडकलाई नै पक्षपोषण गर्ने र अपराध ढाकछोप गराउन अगुवाहरु लागिपर्ने प्रबृत्ति कायमै रहेकोले मौनता तोडांै राष्ट्रिय अभियान आवश्यक परेको अधिकारकर्मीहरुको भनाइ छ ।