कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक, प्रदेश १ मा एकैदिन चार जनाको मृत्यु

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ । बुधबार थप ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।

प्रदेश १ मा बुधबार एकैदिन चार संक्रमितको मृत्यु भएपछि प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ । बुधबार विराटनगरमा तीन जना र धरानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो ।

सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ः१० बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराटनगरको गोल्डेन अस्पतालबाट थप उपचारका लागि रेफर गरिएका संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएका उनलाई असोज ९ गते कोरोना पुष्टि भएको थियो । उनको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

मृतकमा उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ । डा.सापकोटाका अनुसार १० वर्षदेखि मधुमेहको समस्या रहेका उनले मृगौलाको नियमित डाइलासिस पनि गराउँदै आएका थिए ।

यता विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजेतिर मृत्यु भएको छ । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार असोज ४ गते अस्पतालमा भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएको थियो ।

एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या रहेकोमा अवस्था गम्भीर भएपछि रेमडिसिभिर औषधि पनि चलाइएको डा.सिग्देलले जानकारी दिनुभयो । तर, सफल हुन नसकेको उहाँको भनाई छ ।

यसैगरी विराटनगरको नोबेल मेडिकल कलेजमा पनि बुधबार विहान सुनसरीको हरिनगर २ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

फोक्सो वार्डमा भर्ना गरि उपचारको क्रममा उनमा सोमबार कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि ती पुरुषलाई नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारको लागि भर्ना भएका सुनसरीको इटहरी–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धको बुधबार अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।

बुधबार, १४ असोज, २०७७, साँझको ०५:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर