विराटनगर । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौ महिनाको १ नं. प्रदेशकै सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागिय मुल्य तथा मान्यता, आदेश र निर्देशनको पालना गरी अवैध हातहतियारद्वारा ब्यक्ति हत्या गरी लुकेर बसेका अभियुक्तलाई खोजतलास गरी पक्राउ गर्न सफल भएकोले कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुनेगरी कार्कीले नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएको र सर्वसाधारणमा सुरक्षाको अनुभूति गरएको प्रदेश १ प्रहरीले कार्यालययले जनाएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिन्छ ।