विराटनगर । विराटनगरस्थित कोवास उच्च माविले कक्षा ११ मा भर्ना भएका ४ सय जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
उच्च मावि व्यवस्थापन समितिले निर्णय गरि भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिने निर्णय गरेको हो ।
उच्च मावि परिसरमा आइतबार पत्रकार सम्मेलन गरि महामारीको रूपमा फैलिएको कोभिड १९ ले गर्दा अभिभावकलाई आर्थिक समस्या पर्न गएकोले भर्ना हुने विद्यार्थीहरूको लागि छात्रवृत्ति घोषणा गरिएको प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘जेहन्दार र आर्थिक अवस्था नाजुक भएका सय विद्यार्थीहरूलाई निःशुल्क अध्यापन गराइन्छ,’ उहाँले भन्नुभयो, ‘तीन सय विद्यार्थीहरू आंशिक छात्रवृत्ति प्रदान गरिन्छ ।’
विद्यार्थीहरूलाई दिने पूर्ण र आशिंक छात्रवृत्ति २ करोड १३ लाख १५ हजार बराबरको भएको प्रिन्सिपल श्रेष्ठको भनाई छ । ‘कोवासमा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुँदै आएको छ । यस वर्ष दुई संकायमा गरि जम्मा ४ सय जनाको कोटा हो,’ उहाँले भन्नुभयो, ‘भर्ना भएका सबै विद्यार्थीहरूले एसइइमा ल्याएको नतिजा अनुसार छात्रवृत्ति पाउनेछन् ।’
उच्च माविको अनुसार एसइईमा ३.९० जिपिए ल्याएर उत्तीर्ण भएका ५०÷५० जना विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा पूर्ण छात्रवृत्ति पाउनेछन् । यस्तै ३.८५ जिपिए ल्याउने विज्ञान संकायतर्फ २५ र व्यवस्थापनतर्फ २५ जना विद्यार्थीले ९० प्रतिशत छात्रवृत्ति पाउनेछन् । यसैगरि ३.८० जिपिए ल्याउने ५० जनाले ८० प्रतिशत, ३.७५ जिपिए ल्याउने ५० जनाले ६० प्रतिशत, ३.७० जिपिए ल्याउने ५० विद्यार्थीले ५५ प्रतिशत, ३.६५ जिपिए ल्याउने ५० जनाले ५० प्रतिशत र ३.६० प्रतिशत ल्याउने ५० विद्यार्थीले ४५ प्रतिशत छात्रवृत्ति पाउने कोबासले जनाएको छ ।
कक्षा ११ मा विज्ञान संकाय अध्यापन गर्न ९८ हजार र व्यवस्थापन संकायमा ४९ हजार रुपैयाँ खर्च लाग्छ । दुबै संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान नगर्दा स्कूललाई कूल आम्दानी २ करोड ९४ लाख हुने बताइएको छ ।
उच्च माविले सय विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र ३ सय विद्यार्थीहरूलाई आंशिक छात्रवृत्ति वितरण गर्दा २ करोड १३ लाख १५ हजार रुपैयाँ खर्च हुनेछ । छात्रवृत्ति दिएर आम्दानी भएको ८० लाख ८५ हजार रुपैयाँले शिक्षक, कर्मचारी र प्रशासनिक खर्च धान्ने उच्च माविले जनाएको छ ।

