घिसिङलाई पुनर्नियुक्ति दिनुपर्छ : मन्त्री आङ्बो

पाँचथर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसमले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिइनुपर्ने बताउनुभएको छ ।

घिसिङले देखाउनुभएको ब्यवसायिक दक्षता तथा श्रेष्ठतालाई ख्याल गर्दै सरकार र मुलुकको हितका लागि घिसिङलाई पुनर्नियुक्ति गरिनुपर्ने आङ्बोको भनाई छ ।

प्रेस संगठन पाँचथरले शुक्रबार फिदिममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले घिसिङको पुनर्नियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकार छलफलमा रहेको जानकारी दिनुभयो । सामूहिक प्रयासले मुलुकको लोडसेडिङ हटेको भन्दै उहाँले यसमा अनावाश्यक देवत्वकरण वा अनावाश्यक रुपमा कमजोर ठान्न नहुनेमा जोड दिनुभयो ।

अब एक कार्यकाल घिसिङलाई प्राधिकरणको नेतृत्व दिन संघीय सरकारले निर्णय गर्ने विश्वास आफुलाई रहेको मन्त्री आङ्बोले बताउनुभयो । घिसिङका पक्षमा सडकमा भएका प्रदर्शनलाई नकारात्मक रुपमा हेर्न नहुने भन्दै उहाँले घिसिङले कमाएको लोकप्रियता र श्रेष्ठतालाई अरुले समेत अनुसरण गर्नुपर्ने सुझाव दिनुभएको छ ।

लामो बन्दाबन्दी (लकडाउन)का कारण आर्थिक अवस्था जटिल अवस्थामा पुग्न लागेको उल्लेख गर्दै मन्त्री आङ्बोले अर्थतन्त्रलाई चलायमान बनाउनुको विकल्प नरहेको पनि उल्लेख गर्नुभयो । सजगता र सतर्कता अपनाउदै अर्थतन्त्रका आम पक्षहरु खुल्ला गरिएपछि बजार तरलता सापेक्षित हिसाबले ठिक ठाउँमा आउन लागेको उहाँको विश्लेषण छ ।

प्रदेश–१ मा अर्थतन्त्रलाई सुचारु गर्दै सङ्क्रमण रोक्न अवलम्बन गरिएका अन्य उपायहरु प्रभावकारी भएको भन्दै मन्त्री आङ्बोले परीक्षणमा वृद्धि र सतर्कतामा कडाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरुको वार्षीक समीक्षा र आगामी कार्यक्रमबारे छलफल गर्न गृहजिल्ला आउनुभएका मन्त्री आङ्बोले पुजिगत खर्च बढाएर विकासलाई गति दिने तथा सेवा प्रवाहलाई चुस्त बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

गत आर्थिक वर्षमा कुल बजेटको झण्डै ७१ प्रतिशत खर्च गर्नसक्नु प्रदेश सरकारको सुखद् सुरुवात भएको उहाले बताउनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय स्तरमा चालिएका कदमहरु पनि प्रभावकारी रहेको उल्लेख गर्नुभयो । नयाँ महामारीसँग नयाँ हिसाबले लड्नुुपर्दा अनुभव अभावमा केही समस्याहरु सिर्जना भएको मन्त्री आङ्बोको स्वीकारोक्ति छ ।

शुक्रबार, ०९ असोज, २०७७, साँझको ०७:५८ बजे

प्रतिक्रिया

  1. माननीय प्रदेश मन्त्री ज्युकाे भनाई सान्दर्भिक नै छ,तर विगत आ व मा विनियाेजित रकम हरुकाे समीक्षा गर्न जरुर छ।

प्रतिक्रिया:

सम्बन्धित खवर