सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जंगलमा मालिङ्गो काट्न गएका स्थानीयलाई बिहीबार अपराह्न ४ बजे भालुले आक्रमण गरी घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार घाइते भएकालाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी छैस्काम लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु गएको हो। मृत्यु हुनेमा महाकुलुङ–३ छेस्कामका ३६ वर्षीय प्रेम कुलुङ छन् ।

घटनामा प्रेमका भाई २२ वर्षीय चतुर कुलुङ, महाकुलुङ–४ का १९ वर्षीय प्रेम कुलुङ, २५ वर्षीय सुजन कुलुङ र १९ वर्षीय सन्तबहादुर कुलुङ घाइते भएका छन्। उनीहरुको अहिले स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारका लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमाटमको लागि सोताङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गरेको प्रहरीले बताएको छ।