विराटनगर । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) नगर समिति विराटनगरले तलब माग राख्दै आन्दोलित भएका छन् ।
उनीहरूले चैत यतादेखि रोकिएको तलब तत्काल दिनुपर्ने माग राख्दै शनिबार प्याब्सन र ऐन प्याब्सन नगर समिति विराटनगरलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विश्वभरी फैलिएको कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि लकडाउन सुरू गरेपछि विद्यालय बन्द भएपछि शिक्षकहरूलाई चैत महिनाको तलब दिएपछि अधिकांश विद्यालयले बेतलबी विदा राखेको छ । निजी विद्यालयले बेतलबी विदा राख्ने निर्णय गरेपछि इस्टुले बिरोध गरेको थियो ।
इस्टु र प्याब्सनबीच बेतलबी विदा फिर्ता लिने र २०७६ चैतसम्मको तलब तत्काल भुक्तानी दिनुपर्ने, २०७७ वैशाखदेखि तलब व्यवहारिक रुपमा चुक्ता गर्दै जान सहमति भएको थियो । सहमति विपरित २०७६ सालकै शिक्षकको तलब केही विद्यालयले भुक्तानी नगरेको इस्टुले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘केही विद्यालयले मनोमानी ढंगले वैशाखदेखि दिन गन्तिमा पिरियड अनुसार तलब दिँदैै आएको गुनासो आएको छ,’ इस्टुले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस्तो विषम परिस्थितमा शिक्षक कर्मचारीहरु कसरी बाचिरिहेका छन् ? उनीहरुको लागि के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा शिक्षक कर्मचारीहरुको तलब रोक्का, निष्काशन गर्ने जस्ता कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ केन्द्रमा भएको सहमतिको अक्षरस पालना गरिदिन इस्टुले माग राखेको छ ।
शिक्षकहरुको लागि तत्काल कार्यन्वय नभए कडा अन्दोलनमा जाने उनीहरुले चेतवनी पनि दिएका छन् । इस्टुले हाल भइरहेको अनलाइन कक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय प्रशासनले तत्काल पहल गर्नुपर्ने इस्टु विराटनगरका अध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।
इस्टु विराटनगरका अध्यक्ष पाण्डे, सचिब जाकर अलि र पदाकिारीहरुले प्याब्सन विराटनगरका अध्यक्ष इन्द्रकुमार राई र सचिब अर्जुन श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।