विराटनगर । विराटनगरको कोशी कोभिड अस्पतालमा शुक्रबार अपरान्ह थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–२ की ७० वर्षीया वृद्धाको उपचारका क्रममा ४:३० बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएको थियो । सोही दिन राति स्वास्थ्यमा समस्या थपिएपछि उनलाई कोशी अस्पताल हुँदै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेकोमा मृत्यु भएको हो । उनलाई चिन्ताजनक अवस्थामा अस्पताल ल्याइपुर्‍याइएको डा. सिग्देलले बताउनुभयो ।

वृद्धमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुनेलगायतका समस्या रहेको अस्पतालले जनाएको छ । योसगै कोशी कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।