काठमाडौँ । अध्यक्षद्वयको प्रस्ताव अनुमोदन गर्दै असार १० बाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।
बैठकले प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत हुने र दाहालले कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय गरेको छ । पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन हुँदा सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीसँग समन्वय गर्ने निर्णय गरेको छ ।
शुक्रबारको बैठकमा सचिवालयसहितका १३ स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए । संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार संशोधनको निर्णय हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पनि नेकपाले निकालेको छ । कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा लिँदै बैठकले अझै व्यवस्थित ढंगले काम अगाडि बढाउने निर्णय गरेको छ । बैठकको प्रारम्भमै अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले बैठकमा उठेका विषयहरुका बारेमा जवाफ दिनुभएको थियो ।
स्थायी समिति बैठकमा रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ ।

