धरान । सुनसरीको धरान ११ मृत अवस्थामा भेटिएकी २२ बर्षीया सोनी हाङ्मा लिम्बूको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ ।
सोमबार बिहान घरमा नै आत्महत्या गरेको भनिएकी लिम्बूको माइती पक्षले ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएको हो ।
माइती पक्षले मृत्यु शंकास्पद भएकोले अनुसन्धान गरिपाउँ भनेर निवेदन दिएको प्रहरीले जनाएको छ । इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीले पनि शुक्ष्म ढंगले घटनाको अनुसन्धान गरिहरको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप यकिन हुने उहाँको भनाइ छ ।
तेह्रथुम माइती घर भएकी सोनीले गत असारमा धरान ११ का सिंगापुरे लाहुरेसँग विवाह गरेकी थिइन् । श्रीमान् सिंगापुर फर्किएपछि घरमा परिवारसँग बस्दै आएकी उनलाई सोमबार बिहान खाना खान बोलाउदा नबोलेपछि ढोका फोडेर हेर्दा सलले पंखामा झुण्डिएको अवस्थामा भेटेको परिवारको दावी छ ।
प्रहरी घटनास्थलमा पुग्दा भने उनको शव ओछ्यामा थियो । झुण्डिएको देखेपछि देवरले समातेर उचालेको र छिमेकी एक महिलाले सलको पासो फुस्काएको परिवारले जाएको छ । मंगलबार बिहान माइती पक्ष आएपछि प्रहरीले शव उठाएर पोष्र्टमार्टमको लागि लगेको थियो ।
माइती पक्षले सोनीलाई घर परिवारबाट टर्चर दिएको बताएको छ । सोनीका साथीहरुले पनि उनको हत्या भएको दाबी गरेका छन् । भतिजीको हत्या भएको भन्दै काका टेकराज तिगेलाले प्रहरीले तत्काल परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
टेकराजका अनुसार सोनीको मृत्यु भएपछि पनि माईती पक्षलाई जानकारी गराइएको थिएन । सिङ्गापुरबाट आफन्तले खबर गरेपछि मात्र सोनीको मृत्युबारे जानकारी पाएको उहाँले बताउनुभयो । झुन्डिएको अवस्थामा झारिएको हो भने किन तुरुन्तै हस्पिटल लगिएन भन्ने प्रश्न पनि गम्भीर रहेको उहाँको भनाइ छ । माइती पक्षले घाँटीमा गोलो दाग भएको, रालसिंगान केही नदेखिएको तथा झुण्डिएको भनिएको सल नकाटी र नखोली शव झारियो भन्नु रहश्यमय रहेको बताएको छ ।
सोनीको हत्या भएको आशंका लागेपछि माइती पक्षले मुचुल्कामा समेत सही गर्न मानेको थिएन । तर, प्रहरीले शव उठाएर लगेको टेकराजले बताउनुभयो । जनप्रतिनिधि, स्थानीयवासी, मानवअधिकारकर्मी, पत्रकार सबैको रोहबरमा मुचुल्का गर्न आग्रह गर्दा पनि प्रहरीले जबरजस्ती गरेको उहाँको भनाइ छ ।
काका टेकराजका अनुसार तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेकी सोनी र सिङ्गापुर प्रहरीमा कार्यरत युवराज मावो लिम्बूबीच फेसबुकमा चिनजान भएर प्रेम सम्बन्ध बसेको थियो । युवराज नेपाल आएर सोनीलाई माग्न ओख्रे पुगेपछि गत असार ५ गते फुलमाला भएको र पछि विवाह गर्ने भन्भ्दै युवराजले सोनीलाई धरान ल्याएको माइती पक्षले जनाएको छ ।
सोनीलाई घरमा साईंली आमाजुले छोड्पत्र गर्न दबाव दिएको खुलेको छ । कोरिया जाने पर्खाइमा रहेकी सोनीलाई पारिवारिक तनाव भएको र श्रीमानले पनि साथ नदिएको उनले साथीहरुसँग बताएकी थिइन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।