विराटनगर । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने लगभग निश्चित भएको छ ।
अब बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने तयारी गर्नुभएको छ ।
घिसिङको पुनः नियुक्तिको लागि मन्त्री पुनले नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श गरिसक्नुभएको छ । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीकाबीचमा पनि सोमबार बिहान त्यसबारे छलफल भएको बताइएको छ ।
मन्त्री पुन रोल्पाबाट बुधबार काठमाडौं फर्किएपछि बस्ने क्याबिनेट बैठकमा घिसिङको पुनः नियुक्तिको प्रस्ताव लैजाने उहाँका स्वकीय सचिव दुर्गा चापागाँइले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङको निरन्तरता हुने नहुनेमा अन्योल रहेको बेला उर्जामन्त्री पुनले उहाँलाई नियुक्त गर्नुपर्ने मत राख्नुभएको थियो ।
चार वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले उर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको थियो । सरकारको निर्देशन अनुसार घिसिङ प्रभाबकारी कार्यसम्पादन गर्दै दैनिक १८ घण्टा लोडसेडिङ हुने गरेकोमा मुलुकलाई लोडसेडिङमुक्त बनाएपछि उहाँको प्रशंसा र चर्चा चुलिएको थियो ।
कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौमा सकिदैछ । उर्जा मन्त्रालयले मन्त्रालयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको बुझिएको छ ।
घिसिङले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याउनुका साथै देशभर लोडसेडिङमुक्त गराउन व्यवस्थापकीय नेतृत्व गर्नुभएको थियो । उहाँको प्राधिकरणमा पुनः नियुक्ति हुनुपर्ने जनमत व्यापक रहेको छ ।
यद्यपी सरकारको नेतृत्वमा भएको कामको जस घिसिङ एक्लैले लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङसँग असन्तुष्ट रहेको सार्वजनिक हुँदै आएको छ । प्रधानमन्त्री निकट रहेकाहरुले त घिसिङको विरुद्धमा त्यसअघिका कार्यकारी निर्देशक मुकेश काफ्लेलाई उद्दृत गदै प्रचार अभियान नै चलाएका छन् ।